पूर्वराष्ट्रपति यादवको निवास खाली गराउन मुद्दा

असार ६, काठमाडौं –
सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपलब्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सरकारले घर बहालवापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रबिभक्त बिष्टले मुद्दा दायर गरेका हुन्।
बिष्टले घर खाली गर्न नमानेका कारण आफूचाहीँ डेरामा बस्नुपरेको पनि उल्लेख गरेका छन्।

‘बहाल भराई घर खाली गरिपाउँ’ भन्दै दायर भएको मुद्दामा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, शीतलनिवास, सरकार र पूर्वराष्ट्रपति यादवलाई प्रतिवादी बनाइएको छ ।