अठासीजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, ५ असार । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरियन भाषा परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

आइतबार पहिलो चरणको परीक्षामा काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट ११ जना र ललितपुरबाट १० जना गरी २१ जनालाई तथा दोस्रो चरणको परीक्षामा काठमाडौँबाट ३८ जना पुरुष, एक महिला र एक बिचौलियासहित ५७ जना तथा ललितपुरबाट १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसअघि शनिबारको परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ परेका थिए । परीक्षाका लागि ६० हजार ६२६ जनाले आवेदन दिएकामा शनिबार र आइतबार सञ्चालित परीक्षामा ५७ हजार १५९ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।