रक्षामन्त्री रावलद्वारा गत शुक्रबार प्रकाशित समाचारको खण्डन

काठमाडौँ, ५ असार । गत शुक्रबार प्रकाशित एक साप्ताहिकको मुखपृष्ठमा ‘भीम रावलका कारण ठूला आयोजना सङ्कटमा’ भन्ने शीर्षकको समाचार पढेर आफू आश्चर्य चकित भएको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै उहाँले त्यस समाचारमा आफूले माथिल्लो कर्णाली, चमेलिया र सिक्टा आयोजनाहरुबाट ‘रक्सी, रसद–पानी र रकम मागेका कारण’ ती आयोजना सङ्कटमा परेको भन्ने उल्लेख भएको देख्दा देशभक्ति र जनसेवाको भावनाबाट दृढतापूर्वक उभिने व्यक्तिका विरुद्ध कति निष्कृष्ट षडयन्त्र हुँदो रहेछ भन्ने अनुभूति भएको छ भन्नुभएको छ ।

“देश र समाजप्रति उत्तरदायी हुनुपर्ने जिम्मेवार पत्रकारले तथ्य बुझ्दैनबुझी मनपरी किसिमले लेख्नु सर्वथा अनुचित मात्र होइन ममाथिको घोर अन्याय तथा अपमानसमेत हो । यस्ता अनर्गल प्रचारले सम्बन्धित पत्रिका र पत्रकारको मर्यादा र विश्वसनियतालाई समेत ध्वस्त गर्छ भन्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छु”– उहाँले भन्नुभएको छ ।