नक्कली चिकित्सक बनेका छत्तीस सार्वजनिक

काठमाडौँ, ५ असार- नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेका ३६ जनालाई गत शुक्रबार १० जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाको विवरण आज सार्वजनिक गर्दै प्रहरीले काठमाडौँबाट पुरुष आठ, महिला पाँच, ललितपुरबाट पुरुष दुई, झापाबाट पुरुष एक, सुनसरीबाट पुरुष एक, मोरङबाट पुरुष तीन, धनुषाबाट पुरुष दुई, पर्साबाट पुरुष नौ, चितवनबाट पुरुष दुई, महिला एक, कास्कीबाट पुरुष एक र दाङबाट पुरुष एक नक्कली चिकित्सकलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ । पक्राउपर्नेमा महोत्तरी बथ्नाहा घर भई हाल काठमाडौँ बस्दै झरना फार्मेसी कपनमा कार्यरत पुनम कर्ण, स्याङ्जा कुवाकोट घर भई हाल काठमाडौँ बस्दै कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल, सामाखुसीमा कार्यरत बुद्धिमान श्रेष्ठ, झापा, चारपाने गाविस वडा नं ३ घर भई हाल तिलगङ्गा आँखा अस्पतालमा कार्यरत लिली राजवंशी रहेका छन् ।

यसैगरी, काठमाडौँ, लैनचौर स्थायी घर भई ब्राइट स्माइल डेन्टल क्लिनिकमा कार्यरत बिनिता अधिकारी, महोत्तरी, पिपरा–३ घर भई हाल सोसाइटी डेन्टल क्लिनिकमा कार्यरत रावेत रञ्जनकुमार ठाकुर, काठमाडौँ बत्तीसपुतली घर भई नेपाल परिवार नियोजन सङ्घ ललितपुरमा कार्यरत गजानन्दप्रसाद भण्डारी, धनुषा सपही घर भई हाल ट्रमा सेन्टरमा कार्यरत सन्तोषकुमार झा रहेका छन् ।

त्यस्तै, धनुषा, जनकपुर घर भई हाल लोकहित डेन्टल अस्पताल त्रिपुरेश्वरमा कार्यरत गणेश साह, धनुषा घर भई हाल आम्दा नेपाल जोरपाटी र हेल्दी डेन्टल क्लिनिकमा कार्यरत निलिमा खड्का महत, महोत्तरी, सरपल्लो–२ घर भई हाल रेशा फर्म, चाबहिलमा कार्यरत विनिता मण्डल, रूपन्देही, सिद्धार्थनगर घर भई हाल तनहुँ सेवा हस्पिटलमा कार्यरत राहिल फाज अन्सारी रहेका छन् ।
त्यसैगरी, भक्तपुर, दधिकोट घर भई हाम्रो सहयात्रा हस्पिटल भक्तपुरमा कार्यरत राम घिमिरे, पर्सा, बगही घर भई शान्ति क्लिनिक, वीरगन्जमा कार्यरत कुशराज गिरी, पर्सा, भवानीपुर घर भई गण्डक अस्पताल, वीरगन्जमा कार्यरत पन्नलालप्रसाद पटेल, सर्लाही, वसन्तपुर घर भई हाल मेरी स्टोप्स सेन्टर पोखरामा कार्यरत महेश्वर राय यादव, रौतहट, सकुअवा घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत निमेषपाल रमन, रौतहट, तेजापाकड घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत मोहम्मद रूहुल्लाह, झापा, अनारमनि घर भई बजरङ्ग क्लिनिक झापामा कार्यरत रन्धीर राजवंशी रहेका छन् ।

यस्तै, गोरखा घर भई हाल प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य, सिरहा, मानपुर घर भई हाल विराटनगर ट्रमा अस्पतालमा कार्यरत मोहम्मद अबुल कलाम, पर्सा, वीरगन्ज घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल वीरगन्जमा कार्यरत इशादुल हक, पर्सामा कार्यरत सरोजकुमार सिंह, सुनसरी धरान घर भई हाल पुरानो मेडिकल कलेज, चितवनमा कार्यरत रजनी अग्रवाल रहेका छन् ।

अन्य पक्राउमा महोत्तरी पिपरा घर भई हाल केयर नरसिंह होम, जनकपुरमा कार्यरत रवीन्द्रकुमार पाण्डे, धनुषा, सिनुरजोडा घर भई पूजा मेडिकल हलमा कार्यरत रामजी यादव, बारा कलैया घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत रामकुमार प्रधान, दाङ, तुल्सीपुर घर भई हाल बीआर डेन्टल क्लिनिक तुल्सिपुरमा कार्यरत विष्णुप्रसाद भुसाल रहेका छन् ।

त्यसैगरी पर्सा, वीरगन्ज घर भई हाल नर्भिक अस्पताल थापाथली, बिएन्ड बि ग्वार्कोमा कार्यरत अरूणकुमार गुप्ता, सिरहा, भवानीपुर कालाबन्जर घर भई हाल राम डाइग्नोस्टिक क्लिनिक विराटनगरमा कार्यरत सञ्जयकुमार दास, पर्सा, वीरगन्ज घर भई कलेज अफ मेडिकल साइन्स भरतपुर र नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत दिनेशकुमार साह पक्राउ परेका छन् ।

साथै, मोरङ, विराटनगर घर भई हाल सुनसरीमा एफपानमा कार्यरत मनिष अर्याल, पर्सा, सोनवर्षा घर भई चितवन मेडिकल कलेजमा कार्यरत राजन पुरी र नवादा, विहार, भारत घर भई हाल लाइफ गार्ड अस्पताल, विराटनगर, बरगाछीमा कार्यरत जावेद अख्तर अन्सारी पक्राउ परेका छन् ।

अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपश्चात् उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । यसअघि पनि दुई दर्जन नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई ब्युरोले पक्राउ गरिसकेको छ ।