प्रधानसेनापति क्षत्री भोलि लेबनान जाँदै

काठमाडौँ, ५ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री लेबनानको साताव्यापी भ्रमणका लागि भोलि त्यसतर्फ जाँदै हुनुहुन्छ ।

विश्व शान्ति स्थापनार्थ त्यहाँ खटिएको नेपाली सेनाको युनिटको निरीक्षण भ्रमणका लागि उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयबाट थाहा भएको छ । प्रधानसेनापतिका साथमा रक्षा सचिव महेशप्रसाद दाहाल पनि रहनुहुनेछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सर्वप्रथम १९५८ मा नेपाली सेना लेबनानमा शान्ति स्थापनाको निम्ति खटिइएको थियो । सुरुमा त्यहाँ पर्यवेक्षक स्टाफकारुपमा पाँचजना नेपाली सेनाका अधिकृत खटिएका थिए ।

अहिले लेबनानमा नेपाली सेनाका २० जना स्टाफ अधिकृतसहित ८६९ जना शान्ति सैनिक परिचालित छन् । नेपाली सेना हाल विश्वका १४ द्वन्द्वरत मुलुकमा रहेका १५ वटा मिसनमा विश्व शान्ति स्थापनार्थ खटिइरहेको छ ।

लेबनानमा नेपाली सेनाले लामोसमयदेखि शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसा हुँदै आएको छ ।

विश्वका ४१ मिसनमा अहिलेसम्म नेपाली सेनाका एक लाख ११ हजार ३८ जनाले योगदान पु¥याइसकेका छन् । शान्ति स्थापनार्थ खटिनेक्रममा नेपाली सेनाका ६३ जनाले वीरगति प्राप्त गरिसकेका छन् भने ५९ जना गम्भीर घाइते छन् ।

नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित र इमान्दार सैनिकका रुपमा ख्याति कमाएको छ । प्रधानसेनापति क्षत्री साताव्यापी भ्रमण पूरा गरेर यही असार १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।