थरीथरीका मन्त्रीको सरकार

असार ४ ,काठमाडौं –नयाँ संविधानअनुसार शपथग्रहण गरेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सत्तारुढ दल राप्रपा नेपाल सोही संविधानको भावनाविपरीतका गतिविधिमा क्रियाशील छ।

सत्तारुढ राप्रपा नेपालले संविधानको धारा ४ र २६ को प्रतिकूल हुने गरी हिन्दूराष्ट्र निर्माण अभियान चलाएको छ । धारा ४ मा धर्मनिरपेक्षताबारे उल्लेख छ। धारा २६ मा भनिएको छ, ‘धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्म अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ।’

उपप्रधानमन्त्री कमल थापाले राजतन्त्रको वकालत गर्दै आएका छन् । उनले पूर्वमुमाबडामहारानी रत्ना शाह बिहीबार अस्पताल भर्ना भएपछि श्री ५ कै सम्बोधनमा ट्विट गरेर स्वास्थ्य लाभको कामना गरे। उनको ट्विटमा भनिएको छ, श्री ५ मुमाबडामहारानी रत्नाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

संविधानमा व्यवस्था भएको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा राप्रपा नेपालले देशव्यापी अभियान थालेको छ । राप्रपा नेपालले हिन्दूधर्म र राजतन्त्रको पक्षमा जनमत बनाउने अभियान चलाएको हो। फागुनदेखि सुरु भएको अभियान आगामी कात्तिकसम्म चल्ने सो पार्टीले जनाएको छ।
यसै गरि अर्का उपप्रधानमन्त्री तथा गरिबी निवारण एवं सहकारीमन्त्री चित्रबहादुर केसी संघीयताको विरोधमा छन्। उनी नेतृत्वको राष्ट्रिय जनमोर्चाले २ देखि १९ असारसम्म संघीयताको खारेजी, नागरिकता ऐन खारेजीलगायतका माग राखेर गाउँस्तरमा सभा तथा भित्तेलेखन गर्दै छ। २० असारदेखि मसान्तसम्म जिल्लास्तरीय सभा, २ साउनदेखि मसान्तसम्म देशका प्रमुख सहर र सदरमुकाममा अन्तक्रिया गर्ने जनमोर्चाको कार्यक्रम छ।
खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल निर्वाचन आयोगले खारेज गरिसकेको छ । २३ फागुन ०७२ मा निर्वाचन आयोगले सो दल खारेज गरेको हो। दलविहीन भए पनि सिंह मन्त्री नै छन् । दल खारेज भएपछि मन्त्री र सांसद रहिरहनु संविधानविपरीत हुन्छ।