सरकारसँग चिढियो कांग्रेस

असार ४ ,काठमाडौं – मधेस केन्द्रित दलहरूसँग सम्बन्ध चिसिरहेका बेला प्रधानमन्त्रीले ुएकलौटीु रूपमा संविधान कार्यान्वयन कार्ययोजना ल्याएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ।
निर्वाचन र संविधान कार्यान्वयनको कार्ययोजना बनाउनुपर्ने मुख्य सुझाव कांग्रेसकै थियो। तर, एकपटक संवादै नगरी घोषणा गरिएकाले उसको मन दुखेको हो। केही समयअघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस नेताहरूले प्रधानमन्त्रीलाई भेटेरै प्रमुख राजनीतिक शक्तिबीचको समझदारीबाट मात्रै अघि बढ्न आग्रह गरेका थिए।

हो कार्ययोजनासहित अघि बढ्नुपर्छ भन्ने हाम्रो पनि सुझाव हो। तर, कुन समयभित्र के,के काम सम्पन्न गर्ने भन्ने विषयमा राजनीतिक समझदारी हुनुपथ्र्यो, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, प्रधानमन्त्री एकलौटी रूपमा जसरी अघि बढिरहनु भएको छ, त्यसले बाहिर निर्वाचन भन्ने तर नियत निर्वाचन नगराउने देखिँदैछ।

कांग्रेसको मुख्य सरोकार अबको निर्वाचन कसको नेतृत्वमा गर्ने भन्नेमा केन्द्रित देखिन्छ। निर्वाचनमा जानुअघि संविधान कार्यान्वयनसँग जोडिएका राजनीतिक र कानुनी मुद्दाहरूमा प्रमुख दलहरूबीच समझदारी जुटाउनुपर्ने माग उसले राख्दै आएको छ। यी मुद्दामा समझदारी हुँदै जाँदा सरकारको नेतृत्वको विषय पनि अवश्य एजेन्डामा आउने विश्वास कांग्रेस नेताहरूलाई परेको छ।

तर प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउने मनसायबाट घोषणा गरेको निर्वाचनसम्बन्धी कार्ययोजनाले कांग्रेस सशंकित छ।