पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

जेठ ३२ ,ताप्लेजुङ –
ताप्लेजुङमा पहिरोले घर पुरिँदा दुर्इ बालबालिकाको मृत्यु भएको छ। अबिरल वर्षाका कारण पहिरोले घर पुरिँदा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।

मंगलबार बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङले प्रहरी जनाएको छ।

प्रहरी अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन्। उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ। सीताका श्रीमान् मनकुमार तामाङ भने बैदेशिक रोजगारीमा रहेका छन्।

यता मेची राजमार्गअन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ। अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन्। मध्य रातिदेखि ताप्लेजुङमा लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन्।