पूर्वपत्निसँग प्रतिशोध साँध्न अश्लिल भिडियो इन्टरनेटमा अपलोड

काठमाडौँ, २४ चैत – करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए । अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे ।

करिब दुई वर्षको अस्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे । युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे ।

पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे । सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए । उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे ।

फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए ।

सामाजिक सञ्जालहरूबाट प्रतिशोध साँध्ने तथा बार्गेनिङ गर्ने घटना बढेका छन् । पूर्वपत्नीसँग प्रतिशोध लिन आफैँले गोप्य रूपमा खिचेका अश्लील भिडियो र फोटो पोर्नसाइटमा अपलोड गरेका एक युवक प्रहरीको फन्दामा

पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए । त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो । प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ ।