भारत र अमेरिकाबारे एकैदिन एमालेका दुई विज्ञप्ति

काठमाडौँ, २४ चैत – बिहान केन्द्रीय सचिवालयका तर्फबाट सचिव प्रदीप ज्ञवाली र दिउँसो स्थायी समिति बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै सरकारलाई भारत र अमेरिकाको साथ र भरोसा रहेको दाबी गरेका छन् ।

एमालेले एकैदिन दुईवटा विज्ञप्ति निकालेर मित्रराष्ट्रहरूप्रति सरकार र पार्टीको कुनै नकारात्मक दृष्टिकोण नरहेको जनाएको छ । केही समयअघि देखापरेका असहज परिस्थिति पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम सुरु भएको दाबी एमालेको छ ।

एमालेले आइतबार बिहान केन्द्रीय सचिवालयका तर्फबाट र स्थायी समितिको बैठकपछि साँझ प्रचार विभागका तर्फबाट छुट्टाछुट्टै विज्ञप्ति जारी गरेको हो । प्रधानमन्त्री केपी ओलीले ‘सरकार र आफ्नो पार्टीविरुद्ध मित्रराष्ट्र सक्रिय रहेको’ नबोलेको भए पनि मिडियामा भारत र अमेरिकाको नाम जोडिएको भन्दै एमालेले आपत्ति जनाएको छ । वर्तमान सरकारलाई छिमेकी तथा मित्रराष्ट्रको पूर्ण साथ र समर्थन रहेको विश्वास एमालेको छ ।

देश अप्ठ्यारो स्थितिमा रहेका वेला निराधार कुरा आउँदा अन्तर्राष्ट्रिय जगत्मा भ्रम सिर्जना हुने एमालेले जनाएको छ । दुवै विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदायमा भ्रम सिर्जना नगर्न आग्रह गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।