भलिबल सङ्घले वार्षिक कार्ययोजना ल्यायो

काठमाडौँ, २३ जेठ । नेपाल भलिबल सङ्घले आगामी वर्षका लागि आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

निर्वाचित भएको २० दिनपछि सङ्घले यहाँ आज पत्रकार सम्मेलन गर्दै वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । वार्षिक कार्ययोजनामा विभिन्न २३ विधा समावेश भएको सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताउनुभयो ।

सङ्घको पहिलो काम आगामी ‘ओलम्पिक डे’को अवसरमा असार ३ गते १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नेछ । त्यस्तै साउन १३ गते नेपालले भारतसँग मैत्रीपूर्ण महिला भलिबल खेल आफ्नै घरमा खेल्नेछ ।

त्यसैगरी, सङ्घले भदौमा भलिबल महोत्सव गर्नेछ, जहाँ तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप हुनेछ र कात्तिकमा पाँचौँ महिला तथा छैटौँ राष्ट्रिय पुरुषबीच भलिबल गराउने तालिका रहेको छ ।

साथै सोही महिना एभिसी सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला भलिबल र इन्टरनेसनल रेफ्री क्यानिडेट कोर्स तथा रेफ्री रिफ्रेसरको तालिमको कार्यक्रम रहेको सङ्घले जनाएको छ ।

कार्ययोजनाअनुसार मङ्सिरमा ३०औँ पुरुष तथा २०औँ महिला भलिबल आयोजना गरिने छ । त्यस्तै, माघमा १९ वर्षमुनि (यु–१५)को विद्यालयस्तरीय राष्ट्रिय भलिबल गराइनेछ ।

चैतमा तेस्रो राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबल र वैशाखमा इभिसी सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल आयोजना हुने कार्यक्रम छ । त्यस्तै अर्को वर्ष वैशाखमा वर्ष खेलाडी र प्रशिक्षक एवम् सङ्घसंस्थालाई सम्मान गर्ने कार्यक्रम छ ।