राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगितामा भैरहवा र युनाइटेड क्लब विजयी

रौतहट, २२ जेठ – सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेमानसिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भैरहवा र युनाइटेड क्रिकेट क्लब वीरगन्ज विजयी भएको छ ।

पहिलो खेलमा टर जितेर ब्याटिङ सुरु गरेको भैरहवाले २० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

एकसय ७० रनको लक्ष्य लिएर मैदानमा उत्रेको सिरहाले १२ दशमलव ४ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो ।

सिरहाका लागि राकेश कामतले २३ रनको योगदान दिएका थिए । सिरहालाई ६४ रनमा समेट्न भैरहवा क्रिकेट टिमका मानबहादुर थापाले ३ विकेट र धीरज आही र शाह आलमले समान २–२ विकेट लिएका थिए ।

भैरहवाका प्रकाश केसी म्यान अफि दी म्याच भएका थिए । उनले ७६ रनको योगदान दिएका थिए ।

यसैगरी दोस्रो खेलमा युनाइटेड क्रिकेट क्लब वीरगन्ज विजयी भएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको राजविराज १२ दशमलव २ ओभरमा अलआउट हुँदै ३९ रनको झिनो स्कोर मात्र जोड्न सफल भयो ।

राजविराजलाई झिनो स्कोरमा रोक्नका लागि युनाइटेड क्रिकेट क्लब वीरगन्जका अविनाश कर्णले ५ विकेट लिएका थिए भने सहिफुल्ला अन्सारी र मुर्तजा हवारीले समान दुई दुई विकेट लिएका थिए ।

चालीस रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको युनाइटेड क्रिकेट क्लब वीरगन्जले ४ दशमलव ५ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

युनाइटेड क्लब वीरगन्जका अविनाश कर्ण म्यान अफि दि म्याच भएका थिए ।

भोलिको खेल काठमाडौँ र कैलाली तथा युनाइटेड क्रिकेट क्लब वीरगन्ज र भैरहवाबीच हुने आयोजकले जनाएको छ ।