भूकम्पपीडितलाई प्रवासबाट रु नौ लाख सहयोग

पर्वत, २२ जेठ – विनाशकारी भूकम्पमा परी भौतिक क्षति भएका विद्यालय र घरबास गुमाएका विपन्न परिवारलाई प्रवासीले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीका लागि अष्ट्रिया पुगेका पर्वतको चित्रे गाविस–२ का रुद्रबहादुर विश्वकर्माको पहलमा जिल्लाका दुई विद्यालय र पर्वतको फलेवास, राम्जा, तिलाहार, बागलुङ र कास्कीका गरी १८ घर परिवारलाई उनीहरुले आर्थिक सहयोग गरेका हुन् । पर्वतको राम्जा देउराली गाविसमा रहेको पशुपति उच्च माविलाई नगद रु २५ हजार, कुश्मा नपा–११ खरेहामा रहेको खरेहा प्राथमिक विद्यालयलाई रु ५० हजार नगद पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेका छन् ।

त्यस्तै, भूकम्पबाट घरबास गुमाएका चार परिवारलाई नगद रु २० हजारका दरले र अन्यलाई रु १५ हजार र रु छ हजार ५०० का दरले आर्थिक सहयोग प्रदान गरेका हुन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रियामा आबद्ध विश्वकर्माले भूकम्पपीडितको दुःखमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले उक्त सहयोग गर्नुभएको छ ।

उक्त राहत रकम आज लायन्स क्लब अफ शिवालय, पर्वतको संयोजनमा पीडितलाई वितरण गरिएको हो । झन्डै रु तीन लाख नगद पीडितलाई हस्तान्तरण गरिएको थियो । विश्वकर्माले भूकम्प गएको समयमा झन्डै रु छ लाख बराबरको नगद र जस्तापाता सहयोग गर्नुभएको थियो । आफूहरु विदेशमा भए पनि स्वदेशमा रहेका पीडितलाई राहत पु¥याउने उद्देश्यले आफूले व्यक्तिगत र विभिन्न दाताबाट सङ्कलन गरेर रकम स्वदेश पठाएको उहाँले बताउनुभयो ।

राहत हस्तान्तरण गर्दै रुद्रबहादुर विश्वकर्माकी पत्नी मञ्जु विश्वकर्माले आफूहरु रोजगारीका लागि लामो समयदेखि प्रवासमा रहनुपरे पनि आफ्नै गाउँठाउँमा केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि असहाय, गरिब र विभिन्न पीडामा परेकालाई सहयोग उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै लायन्स क्लबका डिस्ट्रिक्ट एडभाइजर काशीकुमार जोशीले जुनसुकै अवस्थामा पनि लायन्स क्लबले पीडितलाई सहयोग गर्दै आएको बताउँदै तत्काल राहत दिलाउनका लागि निरन्तर लागिरहने बताउनुभयो । उहाँले विभिन्न सहयोगीको सक्रियता र पहलमा लायन्स क्लबले भूकम्प, बाढीपहिरो, आगलागीलगायतका पीडितलाई सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।

त्यस्तै, लायन्स क्लबका एरिया कोअर्डिनेटर लेखनाथ उपाध्याय र मनोनित रिजन चेयरपर्सन वसन्तकुमार कर्माचार्यले प्रवासमा रहेर पनि आफ्नो गाउँका भूकम्पपीडितलाई पटक–पटक आर्थिक सहयोग उपलब्ध गराउन पहल गरेकामा सहयोगदाताको परिवारको प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा अमेरिकाको हावर्ड युनिभर्सिटिमा पूर्ण छात्रवृत्ति कोटामा अध्ययन गर्ने मौका प्राप्त गरेका सहयोगदाता रुद्रबहादुर विश्वकर्माका छोरा रोशन विश्वकर्मालाई सम्मानसमेत गरिएको थियो ।