निवृत्तिभरणको व्यवस्था बजेटमा समावेश गर्ने तयारी

काठमाडौँ, २२ जेठ – कृषि विकासमन्त्री हरिबोल गजुरेलले किसानलाई निवृत्तिभरणको व्यवस्था बजेट प्रस्तुत गर्दा छुटे पनि त्यसलाई फेरि समावेश गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

‘अष्ट ज अभियान’ले आज यहाँ आयोजना गरेको ‘बृहत् किसान अन्तक्र्रिया तथा अष्ट–ज अभियान भेला’ कार्यक्रममा मन्त्री गजुरेलले आफूले शुक्रबार मात्रै प्रधानमन्त्रीसँग छलफल गरेको र सकारात्मक जवाफ पाएको बताउनुभयो ।

पहिलो चरणमा सात प्रदेशका सात जिल्लामा किसानलाई निवृत्तिभरण दिने प्रस्ताव मन्त्रालयले तयार पारेको उहाँले जानकारी दिनुभयो ।

कृषिको अनुसन्धान मुख्य विषय भएको तथा उन्नत बीउबीजन, प्रविधि, रासायनिक मलको प्रयोगलाई प्राथमिकता दिन आवश्यक रहेकामा जोड दिनुभयो । कृषिको विकासका लागि कृषि आयोगको समेत आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले अष्ट ज अर्थात् जल, जमिन, जडीबुटी, जङ्गल, जलवायु, जनावर, जराजुरी र जनशक्तिको प्रयोगबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्य सहित अभियान सुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का सचिवालय सदस्य लोकेन्द्र विष्ट लगायत विभिन्न व्यक्तिलाई कृषिमा योगदान गरेकामा प्रमाणपत्र प्रदान गरिएको थियो ।