‘नेपाललाई टेस्ट खेल्ने अवसर’

काठमाडौं, जेठ २१ – सन् २०१९ सम्ममा टेस्ट क्रिकेटमा बढुवा र घटुवा प्रणाली ल्याइने भएको छ । यसले नेपाल जस्तो देशलाई पनि अवसर प्रदान गर्न सक्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी डेविड रिचर्डसले बताएका छन् ।

रिचर्डसनले टेस्ट क्रिकेटलाई जोगाइराख्न राम्रो प्रतिस्पर्धा आवश्यक भएको र त्यसमा आईसीसीले टेस्ट क्रिकेटका लागि दुई फरक डिभिजन बनाउन लागेको जनाए ।

आगामी केही सातासम्ममा नयाँ टेस्ट राष्ट्रहरूको पनि घोषणा हुने उनले जनाएका छन् । रिचर्डसनले नेपालसहित अफगानिस्तान, आयरल्यान्डका लागि टेस्ट मान्यताको ढोका खुलेको जनाउँदै वेस्ट–इन्डिजजस्ता स्थापित राष्ट्रहरूका लागि खतराको घन्टी पनि बजेको बताए ।कान्तिपुरले छापेको छ ।

टेस्ट डिभिजनको खाका कस्तो हुनेबारे केही नखुले पनि यसै महिनाको अन्तसम्ममा सबै सहमत भइसक्ने जनाइएको छ । त्यसअनुसार माथिल्लो डिभिजनमा ७ टिम र दोस्रो डिभिजनमा ५ टिम हुनेछन् । दुई वर्षको सर्कलमा खेलिसकेपछि एउटा टिम झर्नेछ भने अर्को टिम उक्लिनेछ ।

‘हामीले नसोचेको राष्ट्रहरूसँग बहुदिवसीय क्रिकेट खेल्ने महत्त्वाकांक्षा छ र वास्तविकता के हो भने उनीहरूमा त्यो सम्भावना पनि छ । नेपाल, अफगानिस्तान र आयरल्यान्डमा त्यो सम्भावना छ । तर आयरल्यान्ड र नेपालले त्यस्तो अवसर पाएका छैनन् ।

जिम्बावेले विरलै खेलेको छ । वेस्ट–इन्डिज ट्वान्टी–२० क्रिकेटमा बढी केन्द्रित छ,’ रिचर्डसनले बताए ।