माओवादीमा ७५ सदस्यीय स्थायी समिति प्रस्ताव

काठमाडौँ, १९ जेठ – नेकपा माओवादी केन्द्रले ७५ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले २४५ सदस्यीय पोलिटब्युरोको प्रस्ताव गरेको हो । सांगठनिक संरचना टुङ्ग्याउन नेता वर्षमान पुन नेतृत्वको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा उक्त संरचना प्रस्ताव गरिएको हो ।

कार्यदलले आवश्यकताका आधारमा स्थायी समिति र पोलिटब्युरो चयन गर्न केन्द्रीय कार्यालयलाई जिम्मा दिएको थियो । कार्यदलले महाधिवेशन आयोजक समितिमा ९९९ जना सदस्य रहने प्रस्ताव गरेको छ । पार्टीलाई गाउँ स्तरसम्म स्थापित गर्न केन्द्रीय नेतृत्व नै प्रभावकारी हुने लक्ष्यका साथ ठूलो संरचना प्रस्ताव गरिएको हो ।

केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार प्रस्तावित संरचनाका बारेमा बिहीबार बस्ने बैठकले टुङ्गो लगाउने छ ।

यस्तै आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भोलिसम्म सबै साङ्गठनिक संरचनाको टुङ्गो लाग्ने जानकारी दिनुभयो ।