वामपन्थी ध्रुवीकरण बढेका बेला वामपन्थीप्रति विश्वास गर्नु घातक : काँग्रेस

काठमाडौँ, १९ जेठ – नेपाली काँग्रेसका नेताले मुलुकलाई अस्थिरताबाट निकास दिन काँग्रेस सक्षम भएको बताएका छन् ।

प्रजातन्त्र सम्वद्र्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाली काँग्रेसको भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रवादी समाज र राष्ट्रप्रति उत्तरदायी हुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रको रक्षा गर्ने प्रमुख दायित्व जनताको हो ।”

उहाँले वामपन्थी धु्रवीकरण हुँदै गएको बेलामा वामपन्थीप्रति विश्वास गर्नु घातक भएको धारणा राख्नु भयो ।
महामन्त्री कोइरालाले बौद्धिक व्यक्तित्वले कार्यकर्तालाई काँग्रेसको इतिहास र विचार सिकाउनु आवश्यक छ भन्नु भयो ।

काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले एउटा आन्दोलनले ल्याएको उपलब्धि हासिल गर्न नपाउँदै अर्को आन्दोलनमा लाग्दा देश पछाडि परेको बताउनुभयो ।

उहाँले काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो ।
काँग्रेसका अर्का पूर्वमहामन्त्री विमलेन्द्र निधिले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशीता र मिश्रित निर्वाचन प्रणाली नेपाली काँग्रेसको सिद्धान्त भएको बताउँदै सबै कुरालाई संविधानले समेटेको जानकारी दिनुभयो ।

उहाँले संविधानलाई कार्यान्वयन गर्नका लागि संविधानमा समेटिएकामध्ये सहमतिका बुँदा अलग र असहमतिका कुरालाई अलग छुट्याएर वार्ता र संवाद गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
केन्द्रका अध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालको हरेक परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै अबको नेतृत्व पनि काँग्रेसले लिनुपर्ने बताउनुभयो ।