बढी शुल्क लिएका विद्यालयलाई कारबाही माग, आलटाल गरे आन्दोलन

जेठ ११, काठमाडौं– संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न माग गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यालय धोबीधारामा आज बसेको संयुक्क्त विद्यार्थी सङ्गठनको बैठकले अनुगमनका क्रममा धेरै शुल्क लिएको पाइएकाले कारबाही गर्न माग गरेको हो ।
नेविसङ्घका प्रवक्ता युपी लामिछानेले अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको भन्दै कारबाही गर्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउन लागिएको बताए । उनले अनुगमनका क्रममा भएका कमी कमजोरी सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्ने र पर्सि शिक्षामन्त्रीलाई भेटेर तीन दिनभित्र कारबाही गर्न आग्रह तयारी गरेको बताए ।

कारबाही गर्न मन्त्रालयले आलटाल गरे फेरि आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । अनुगमन जानुपूर्व शिक्षा मन्त्रालयले एक हप्तामा कारबाही गर्ने सहमति भए पनि कारबाही गर्न आलटाल गरेपछि विद्यार्थीले शिक्षामन्त्रीलाई अन्तिम चेतावनी दिन लागेका हुन् ।