मधेसी मोर्चाद्वारा सर्वदलीय बैठक बहिष्कार

जेठ ११, काठमाडौं– प्रधानमन्त्री केपी ओलीले वार्तामा बोलाइएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा केहीवेर अघि सिंहदरबारमा सुरु भएको बैठकमा सहभागी हुन गएन  ।

मोर्चालाई प्रधानमन्त्री केपी ओलीले पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए । देशको वर्तमान परिस्थितिबारे छलफल गर्ने भन्दै प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए ।

उक्त बैठकमा प्रतिपक्षी कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरु सहभागी भए पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी भएन । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल सिंहदरबारमा सुरु भएको छ ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनलाई भने सरकारले बैठकमा नबोलाएको बुझिएको छ । मधेसी मोर्चालाई मात्र बैठक र वार्तामा बोलाएर मधेस र पहाडबीच विभाजन गराउन सरकार लागिरहेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको आरोप छ ।