पञ्जावलाई हराउँदै बैंलोर दोस्रो स्थानमा, कोहलीको चौथो सतक

एजेन्सी–  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विराट कोहलीले चौथो शतक बनाएपछि गएराति पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ।

बुधबार राति वर्षाले प्रभावित खेलमा किंग्स इलाभेन पञ्जाव डिएल नियमका आधारमा ८३ रनले पराजित गर्दै बैंगलोर अंक तालिकामा दोस्रो स्थानमा पुगेको हो।

उत्कृष्ट ब्याटिङ प्रस्तुत गरेका कोहलीले १ सय १३ रन बनाए। ५० बल खेलेका उनले १२ चौका र ८ छक्काको मद्धतमा शतकीय पारी खेलेका हुन्।

क्रिस गेलले ३२ बलमा ४ चौका र ८ छक्का हान्दै ७३ रनको विस्फोटक पारी खेले।

पानीले प्रभावित भएर १५ ओभरमा झारिएको खेलमा बैंगलोरले ३ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।

डकवर्थ लुइस नियमका आधारमा पञ्जावलाई १४ ओभरमा २ सय ३ रनको लक्ष्य मिलेको थियो। पञ्जावले ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो।

प्रतियोगितामा १३ खेलबाट १४ अंकसहित बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ८ अंक भएको पञ्जाव पुछारमा छ।