प्रदुषति हावाका कारण फोक्सोको क्यान्सरको खतरा बढ्दो– विश्व स्वास्थ्य संगठन

एजेन्सी–  विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले गरेको पछिल्लो अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदुषित रहेको पाइएको हो ।

उक्त संगठनले गरेको सो अनुसन्धानपछि यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।

विश्वका गरिब देशका सहरहरुमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने गरेको तथ्य सो अनुसन्धानमा राखिएको समाचारमा उल्लेख छ ।

विश्वका निम्न तथा मध्य आय भएका देशका सहरमा वायु प्रदुषण मुख्य समस्याका रुपमा देखिएको छ । यस्तो अवस्थाका देशका ९८ प्रतिशत सहर कमसल हावामा बाँचिरहेका देखिन्छ ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य तथा वातावरणसम्बन्धी निकायले निर्धारण गरेका मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा ती सहरहरु देखिन्छन् । जसले गर्दा नागरिकले यस्तो जोखिमपूर्ण वातावरणमा बाँच्नुपर्ने अवस्थामा पुगेका छन् ।

विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य विभागका प्रमुख मारिया नेइराले भनिन्,‘हाल संसारमा यस्तो वायु प्रदुषणको अवस्था निकै नै गम्भीर रुपमा बढिरहेको छ र यसले नागरिकको स्वास्थ्यजस्तो सम्वेदनशिल विषयलाई पनि थप सम्वेदनशिल अवस्थामा नै पुर्‍याइदिएको छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वस्थ र वातावरणसम्बन्धी मापदण्डबाट विश्वका यस्ता देशका सहरहरु तल झरिसकेका पनि सो अनुसन्धानबाट खुलेको छ ।

मारियाले भनिन्– यस्तो अवस्था निकै नै खतरनाक हो र यसैगरी आगामी दिनमा पनि स्वास्थ्यमा सुधारको लागि सबैले ध्यान नदिने हो भने यसले फोक्सोको क्यान्सरजस्तो घातक रोगलाई आमन्त्रण गर्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।

उक्त अनुसन्धानले अहिले पनि यस्ता नगरका नागरिक दम, हृदयघात तथा अन्य स्वासप्रस्वाससम्बन्धी समस्याबाट पीडित भएका पनि देखाएको छ ।

यो अनुसन्धनले घरभित्रको भन्दा बाहिरको वातावरणलाई केन्द्रित गरेको छ । विशेषत बटुवा र सहरमा आफ्नो काम विशेषले हिँड्ने नागरिकमा यो अध्ययन केन्द्रित रहेको छ ।

विश्वका ६७ देशका करिब ७९५ वटा सहरमा यो अध्ययन केन्द्रित गरिएको छ । यो अध्ययन सन् २००८ देखि सन् २०१३ सम्ममा गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको अवस्था धनी देशमा भन्दा बढी गरिब देशमा खतरनाक हुन पुगेको देखिएको पाइएको बताएको छ ।

सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरुको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

तर पनि गरिब देशमा भने स्थिति झनभन्दा झन ह्रासोन्मुख हुदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरु मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरु पर्दछन् ।

वायुमण्डलमा देखिएको यो प्रदुषणका कारण विश्वमा अहिले पनि वर्षेनी कम्तीमा पनि तीस लाख मानिसको ज्यान जाने गरेको उक्त संगठनले जनाएको छ ।

स्याम्पलको रुपमा सहरहरुलाई लिँदा प्राय एक करोड ४० लाख जनसङ्ख्या भएको सहरलाई लिइएको उक्त अनुसन्धान प्रतिवेदनमा जनाइएको छ ।