सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

बैशाख २६, काठमाडौं– सरकारले आर्थिक वर्ष २०७३/७४को नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपति भण्डारीले आज दिउँसो ४ बजे संसदमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

संसद सचिवालयले राष्ट्रपतिको स्वागत र सुरक्षाका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । संविधान जारी भएपछि राष्ट्रपतिबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको पहिलो पटक हो ।

राष्ट्रपतिबाट पेसहुने नीति कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुनेछ । छलफलपछि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने छन् ।

नीति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक बृद्धिलाई दश वर्षमा दोहोरो अंकमा पुर्‍याउने लक्ष्य लिएको छ ।कृषि, उद्योग र पर्यटन क्षेत्रले यसपटक प्राथमिकता पाएका छन् ।

भूकम्पछिको पुनर्निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राथमिकता सहित नीति तथा कार्यक्रम आउने छ । संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । सरकारले केहि लोकप्रिय कार्यक्रम समेत नीति तथा कार्यक्रममा ल्याउने तयारी गरेको छ ।