सोमबारदेखि निजी विद्यालयको शुल्क अनुगमन हुने

वैशाख २५, काठमाडौं– शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठनले निजी विद्यालयले लिने शुल्कको अनुगमन गर्ने भएका छन् ।
मन्त्रालय र विद्यार्थी सङ्गठनबीच भएको वार्तामा तीनबुँदे सहमति भएको र यसअन्तर्गत सोमबारदेखि संयुक्त रूपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने भएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले विद्यार्थी सङ्गठनलाई पनि अनुगमन समितिमा राखेर शुल्कबारे अनुगमन गर्ने सहमति भएको बताए । उनले केन्द्रीय अनुगमन समितिले सोमबारदेखि निजी विद्यालयहरूले लिएको शुल्कबारे अनुगमन गर्ने जानकारी गराए । केन्द्रीय अनुगमन समिति शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा गठन गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपि लामिछानेले मन्त्रालयसँगै मिलेर अभिभावकसहित आफूहरूले पनि अनुगमन गर्ने सहमति भएको बताए । यसअघि मन्त्रालयले निजी विद्यालयको अनुगमन नगरेको भन्दै दुई दिन विद्यार्थी सङ्गठनहरूले आफँै अनुगमन गरेका थिए ।