सामाजिक–सांस्कृतिक रूपान्तरणसँगै आर्थिक क्रान्ति

रुपन्देही–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकलाई सामाजिक–सांस्कृतिक रूपान्तरणस“गै आर्थिक क्रान्तिको दिशामा अघि बढाउनुपर्ने बताएका छन् । रूपन्देहीको मणिग्राममा तिलोत्तमा व्यापार सङ्घले बुधवार आयोजना गरेको कार्यक्रममा उनले तिलोत्तमा नगरलाई ‘हरियाली शहर’का रूपमा विकास गर्न र नमूना नगरपालिका बनाउन सुझाव दिए ।

उनले फरक प्रसङ्गमा काङ्ग्रेस र मधेशकेन्द्रित दललाई पनि यही सरकारमा सहभागी हुन आह्वान गरेका छन् । उनले मुलुकमा राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि यही सरकारकै नेतृत्वमा राष्ट्रिय सहमति निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । अहिलेको गठबन्धन तोड्ने प्रयास भइरहेको उल्लेख गर्दै यसतर्फ सरकारमा सहभागी सबै दल सचेत बन्नुपर्नेमा उनले जोड दिए । लामो समयको प्रयासपछि मुलुकले संविधान पाउनु खुशीको विषय भए पनि संविधानमा राखिएका कतिपय प्रावधान राजनीतिक स्थिरता र मुलुकको प्रगतिका लागि बाधक भएको उनको विश्लेषण छ ।

नया“ संविधान निर्माणको ‘कमाण्डर’ कोही बन्न नसक्दा मुलुक धेरै पछाडि धकेलिने अवस्था आएको उनले बताए । मुलुकमा संविधान ल्याउन नदिएर असफल राष्ट्र बनाउने खेल हुँदाहुँदै पनि दलहरूले संविधान बनाएर मुलुकमा संविधानविहीनाताको अवस्था हुन नदिएकोमा सबैले राजनीतिक दल र सभासद्लाई धन्यवाद दिनुपर्ने नेपालको भनाइ छ ।
कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले नागरिक अधिकारका हिसाबले मुलुकको संविधान संसारकै उत्कृष्ट भएको दाबी गरे । तर, संविधानमा लेखिएका कुरा पूरा गर्न राज्य कमजोर भएको, व्यक्ति र समूह बलिया भएको उनको भनाइ छ । संविधान लागू हुन नदिन आन्तरिक र बाह्य चलखेल शुरू भएको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता खेल अझ बढेर जाने र पार्टीहरूभित्र विग्रहको अवस्था सृजना हुन सक्ने बताए ।

कार्यक्रममा तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष झवीन्द्रप्रसाद कँडेलले घरबहाल ऐन कार्यान्वयन नहुँदा व्यवसायीले समस्या झेल्नुपरेको उल्लेख गरे । व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनको गुनासो थियो । कार्यक्रममा सङ्घका महासचिव रामचन्द्र पाण्डेले व्यवसायीका विभिन्न समस्याबारे जानकारी गराएका थिए ।