मधेसलाई ध्यानमा राखेर बजेट ल्याइनुपर्छ: पुन

वैशाख २२, काठमाडौँ– एमाओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राजनीतिक स्थायित्व बिना बजेट कार्यान्वयन हुन नसक्ने भएकाले आन्दोलनमा रहेको मधेसलाई ध्यानमा राखी विशेष बजेट ल्याइनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले मधेसमा ठूलो आर्थिक असमानताको खाडल रहेकाले राज्य आफूहरुसँगै भएको आभाष दिन पनि विशेष बजेट ल्याउनुपर्नेमा जोड दिए । यसले नयाँ संविधान कार्यान्वयनमा समेत सकारात्मक भूमिका खेल्ने उनको विश्वास छ ।

नेता पुनले संविधान जारी भएपछि पहिलोपटक बजेट आउन लागेकाले जनताको अपेक्षा धेरै हुनु स्वाभाविक भए पनि सबै पूरा हुन नसक्ने भएकाले बजेटले मुलुकको आर्थिक विकासको लक्ष्यलाई दीर्घकालीन रुपमा दिशानिर्देशन गर्ने बजेट ल्याउनुपर्ने सुझाव दिए ।

पूर्वअर्थसचिव युवराज भुषालले आगामी साउन महिनादेखि चौधौँ योजना दिगो विकास, विकास उन्मुख राष्ट्रको सूचीमा पु¥याउने, गरिबी सङ्ख्या तल झार्ने लक्ष्यसहित आउने भएकाले बजेट पनि त्यसैअनुरुप हुने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले मधेस आन्दोलनलगायतको समस्या समाधान हुन नसकेकाले आगामी बजेट कार्यान्वयनमा शङ्का व्यक्त गरे ।