अनसनमा युवाको स्वास्थ्य कमजोर बन्दै

कृष्णराज गौतम
वैशाख २१, काठमाडौं– रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले करिब एकसातादेखि आयोजना गरेको सामूहिक आमरण अनसनमा युवाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको पाइएको छ ।

खुलामञ्चस्थित अनसनस्थलमा गत वैशाख १५ गतेदेखि अनसनमा बसेका १२ जनामध्ये अधिकांशको स्वस्थ्य प्रतिकुल बन्दै गएको छ । तीमध्ये निरज पुन र भरत लामिछानेको स्वास्थ्य अवस्था विग्रिएका कारण वीर अस्पतालमा लगेर उपचार भइरहेको छ ।

अनसनमा बस्नेमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी तामाङ, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, निरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल, ज्ञानदेव विष्ट र चन्द्रबहादुर थापा छन् । थापा यस अभियानका संयोजक एवम् पूर्व सभासद समेत हुन् ।

अनसनरत युवामध्ये कतिलाई स्वास्थ्यकर्मीको सहयोगमा अनसनस्थलमा सलाइन समेत चढाइएको छ । उनीहरुले योग्यता, क्षमता, सिप, र दक्षता अनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने, रोजगार दिन नसके राज्यले शैक्षिक योग्यताका आधारमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन ।

विभिन्न क्षेत्रमा अध्ययन गरेका युवा अनसनमा छन उनीहरुले सरकारले रोजगार वा स्वरोजगार गराउन नसकेका युवाको हकमा परिचयपत्र सहित बाँच्न सक्ने गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने, बन्द हडताल तथा चक्काजाम र तालाबन्दी गर्न नहुने, उद्योगमैत्री र रोजगारमुलक व्यवस्था तत्काल गर्नुपर्ने भनेका छन ।

त्यसैगरी राष्ट्रियस्तरको खेलाडी र कलाकारको समेत विशेष व्यवस्थाको माग गर्दै अनसनकारीले स्वदेशी उत्पादन वृद्धि गरी त्यस्तो वस्तुको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने अपेक्षा उनीहरुको हो ।

समाजसेवी सोनाम शाक्यले विभिन्न राजनीतिक दल तथा दार्शनिक चिन्तन भन्दा माथि उठेर युवाले गरेको मुलुकमा वेरोजगार समस्या समाधान गर्न गरेको प्रयत्नलाई सम्मान गर्नुपर्नेमा जोड दिए । यसैक्रममा उनीहरुको मागप्रति ऐक्यवद्धता व्यक्त गर्न समाजका विभिन्न तह तथा क्षेत्रका नागरिकको सहभागिता समेत बढदै गएको छ । राजनीतिज्ञ, वकिल, पत्रकार, विद्यार्थी, वेरोजगार युवा तथा विभिन्न उमेर समूहका मानिसको सहभागी भई उक्त मागप्रति सहमति जनाएका छन ।

अभियन्ता फणिराज लोहनीका अनुसार सरकारले सो विषयलाई अहिलेसम्म पनि सत्तापक्षले गम्भिर रुपमा लिएको छैन । सार्थक वार्ता प्रारम्भ गरी यसको समाधान खोज्नुपर्छ ।

मुलुकमा प्रत्येक वर्ष करिब पाँच लाखको हाराहारीमा पढेलेखेका दक्ष जनशक्ति श्रम बजारमा आउने गरेको भए पनि देशमा रोजगारी सिर्जना हुन नसक्दा ठूलो युवा शक्ति विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिन बाध्य छन ।

काठमाडौँ ल क्याम्पसका अध्यापक एवम् अधिवक्ता सुनिल खरेलले देशमा वेरोजगार समस्या जटील बन्दै गएकाले अहिलेसम्म पचासौँ लाख युवाहरु रोजगारीको खोजीमा विदेश गएको बताए । उनले अनसनकारीका स्वास्थ्य अवस्थामा गम्भीर भई उनीहरुको जीवनसग खेलबाड नगर्न सम्बन्धित निकायलाई आग्रह गरे ।