पत्रकार महासङ्घमा १० प्रादेशिक संरचनाको प्रस्ताव

वैशाख २०, चितवन–नेपाल पत्रकार महासङ्घको मङ्गलबारदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु हुने विधानसभा अर्थात् साधारणसभामा महासङ्घका १० प्रादेशिक संरचनाको प्रस्ताव गरिने भएको छ ।

सो अनुसार सात प्रदेश तथा एक एक उपत्यका, एसोसिएट र प्रतिष्ठान प्रदेशमा पदाधिकारी तथा सदस्य रहनेछन् ।

महासङ्घका एक हजार ६५१ पार्षद र अतिथि साधारणसभामा सहभागी हुँदैछन् । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टका अनुसार साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने छ ।

नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ ।