बाजुरामा रगत नपाएर छट्पटिँदै सुत्केरी

वैशाख २०, बाजुरा – बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन्।

जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिन अगाडिदेखि प्रसव पीडामा छट्पटाइरहेकी छिन् । उनलाई गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइयो, त्यहाँ पनि उपचार हुन नसकेको र तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएका कारण सदरमुकाम ल्याइएको उनका देवर रामबहादुर विष्टले बताए।

ुकोल्टीमा जहाज आएन, जिल्लामा ल्याएका हौँ, यहाँ पनि रगत नपाएर समस्या भएको छ। घरका चारैजना यहाँ आएका छौँ। भाउजु बाँच्ने हो कि मर्ने हो थाहा छैन । उनको शरीरमा हेमोग्लोविनको मात्रा ०.२ मात्र रहेको छ,उनले बताए।

विष्टको साल निस्केपनि बच्चा ननिस्केका कारण रक्तस्राव भएको हो। त्यसपछि शरीरमा रगतको कमी भएको छ। आकस्मिक प्रसूति सेवा दिनका लागिसमेत समस्या भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय, बाजुराकी सि अनमी ललिता थापाले बताइन्। थापाले भनिन्– ुविष्टलाई ‘ओ’ पोजिटिभ रगत चाहिएको हुनाले कम्तीमा ६ पिन्ट रगत चाहिएको छ।ु एक पिन्ट रगत उपचारमा संलग्न डाक्टर राजन न्यौपानेले दिए भने भने थप रगत हालसम्म पाइएको छैन।

त्यस्तै, रगत नपाएकै कारण सात दिनदेखि बडीमालिका नगरपालिका–९ कि सारदा विकसमेत छट्पटाइरहेकी छिन्। उनको शरीरमा रगतको कमी भएको हुनाले प्रसव पीडा भएका कारण जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचारका लागि उनलाई ल्याइएको थियो।

‘रगत पाइएको छैन, रगत पाइयो भने शल्यक्रिया गरेर बच्चा निकाल्न मिल्दो रहेछ,’ उनका श्रीमान् सुर्जे विकले बताए।

जिल्लामा रगत सङ्कलन केन्द्र नभएपछि यहाँका नेपाली सेना, प्रहरी जवान र स्वास्थ्यकर्मी आफैले रगत दिएर बिरामी बचाउने गरेका छन्।

‘नेपाल रेडक्रस सोसाइटी, बाजुराले ब्लड बैंक स्थापना गर्नुपर्ने हो तर केन्द्रबाट स्वीकृति नपाएका कारण समस्या भएको छ। सबैले सर्वदलिय बैठक बसालेर धेरै पटक पठाएका छौँ, तर हालसम्म आएको छैन,’ नेपाल रेडक्रस शाखा बाजुराका मन्त्री रामबहादुर शाहीले बताए।

जिल्लामा रगत सङ्कलन केन्द्र छैन, रगत नपाएका कारण अधिकांश महिलाले अकालमा ज्यान गुमाउनु परेको छ।