बोक्सोको आरोपमा जिउँदै जलाएर गाडियो

वैशाख २०, रसुवा –रसुवा जिल्लाको दक्षिण पूर्वी बिकट यार्सा गाविस –९ का घोर्मु गाउँका ५६ वर्षीय तुलुसार्की थिङलाई कथित बोक्सीको आरोपमा हत्या गरेको खुलासा भएको छ ।

तुलुसार्की थिङलाई वैशाख ४ गते कथित बोक्सीको आरोपमा स्थानीयले सामूहिक रुपमा कुटपिट गरेर हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय रसुवाले पत्रकार सम्मेलन गरेर जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार स्थानीय १ महिलासहित ८ जनालाई पक्राउ पनि गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा मृतकका भतिजा २७ वर्षीय कान्छा शेर्पा, भोर्ले गाविस –२ का साहिला थिङ, यार्सा गाविस –९ की ४० वर्षीया ल्वाङबुटी तामाङलाई वैशाख १७ गते पक्राउ गरिएको छ । आफन्तको मिलोमतोमा तुलुसार्की थिङको हत्या भएको प्रारम्भीक आशंका प्रहरीले गरेको छ । सोही कारण वैशाख ४ गतेको घटना ढिलो गरेर प्राप्त भएको जनाइएको छ ।

तुलुसार्की थिङको हत्या अभियोगमा उनकी पत्नी र भतिजीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गम यार्सा गाविसको उक्त घटनाबारे जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपी कान्छा शेर्पाले केही व्यक्तिहरूसँग सल्लाह गरी मजदुरीका लागि चीनको केरुङमा रहेका मृतक तुलुसार्की थिङलाई योजनाबद्ध ढंगले आफ्नो घरमा बोलाएर रक्सी सेवन गराइ कुटपिट गरेर खाल्टोमा हालि जीवितै आगोलगाएर निर्मम तवरले हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले बताए ।

मृतकलाई यसअघि ०७२ चैत ४ गते यार्सा गाविस –९ का साङवो तामाङको उपचारका क्रममा मृत्यु भएपछि तुलुसार्की थिङलाई कथित बोक्सीको आरोप लगाएर मोसो दल्नुका साथै जुत्ताको माला लगाएर मानव मलमुत्र खुवाएर अमानवीय व्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।