नेविसंघ महाधिवेशनको मिति घोषणा गर्न देउवाको निर्देशन

Deubaबैशाख १९, काठमाडौं–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशनको मिति तत्काल घोषणा गर्न निर्देशन दिएका छन् ।

नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आइतवार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले ८ वर्षदेखि हुन नसकेको नेविसंघ अधिवेशनको मिति तोक्न निर्देशन दिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

निधिका अनुसार विद्यार्थी संगठन वा भ्रातृ संगठनको अधिवेशन समयमा नहुँदा संगठनको छवि बिग्रने भएकाले तत्काल अधिवेशनका लागि मिति घोषणा गरेर अघि बढ्न नेविसंघ अध्यक्ष रन्जित कर्णलाई देउवाले निर्देशन दिएका हुन्।

देउवाले नेविसंघ महाधिवेशनका लागि सहयोग गर्न छिट्टै पार्टीका तर्फबाटसंयन्त्र समेत गठन गर्ने जानकारी दिएका थिए।

सभापतिमा निर्वाचित भएको दुई महिनापछि देउवाले आइतबार बिहान अध्यक्ष कर्ण र नेता ऋणिकेष जंग शाहलाई आफ्नै निवासमा बोलाएर अधिवेशनको मिति तोकेर तयारी थाल्न निर्देशन दिएका हुन्।

नेविसंघ अध्यक्ष कर्णले पार्टीको सहयोगविना अधिवेशन सम्भव भएकाले अधिवेशनका लागि सहयोग गर्न पार्टीको संयन्त्रण गठन गर्न सभापति देउवालाई आग्रह गरेको बताए।

उनले भने,‘पार्टीको सहयोगविना अधिवेशन असम्भव छ। त्यसैले अधिवेशनका लागि मैले पार्टीका तर्फबाट संयन्त्र बनाउनु आग्रह गरेको हुँ। पार्टीको सहयोग भए अधिवेशन छिट्टै सम्पन्न गर्न सकिन्छ।’

नेविसंघको अधिवेशन विगत ८ वर्षदेखि हुन सकेको छैन। तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो। तर नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन।
नेविसंघको अधिवेशनको मिति पटक पटक तोकिएपनि स्थगित हुँदै आएको छ।