आगलागिबाट बस्ती नै सखाप

बैशाख १९, बागलुङ-
शनिबार दिउँसोदेखि भएको आगालागीबाट दक्षिणी गाविस धुल्लुबास्कोटको एक बस्ती नै सखाप भएको छ।

धुल्लुबास्कोट–१ भाङ्खर्कबाट फैलिएको आगोबाट वडा नम्बर १ को झुले बस्तीका १३ घर र २४ गोठ जलेर नष्ट भएका हुन्। जङ्गलको बीचमा रहेको बस्तीमा बाँकी आठ घर पनि उच्च जोखिममा छन्।

तीव्र गतिमा चलेको हावाहुरीसँगै तलबाट आगो फैलिँदै आएकाले बस्ती नै सखाप परे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बरेङले जनाएको छ। आगलागीमा परी १३ भैँसी, १४ बाख्रा तथा एक एक गाई र गोरु मरेको स्थानीयवासी सन्तोष दगामीले बताए।

इलाका प्रहरी कार्यालय बरेङका अनुसार आगो नियन्त्रणभन्दा बाहिर रहेको छ। आगो अहिले धुल्लुबास्कोटबाट राङानीको किटेनी बाघकाटेतर्फ फैलिएको छ।

आगलागी पीडितका लागि प्रहरी, स्थानीय क्लब र आमा समूहले खाना तथा आवासको प्रबन्ध मिलाएको स्थानीयवासी शेखर थापाले बताए। किटेनीको घर गोठ पनि जोखिममा रहेकाले आवश्यक सजगता अपनाइएको राङानीबाट प्रकाश छन्त्यालले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बरेङबाट प्रहरी टोली र छिमेकी गाउँका बासिन्दा पुगे पनि दिनभर आगो नियन्त्रणमा लिने प्रयास सफल हुन सकेन।

आगो नियन्त्रण र सम्भावित जोखिमबाट बच्न सबैलाई आग्रह गरिएको छ ।

यसैबीच झुलेबस्तीमा भएको घटनाका पीडितलाई राहत सङ्कलन तथा वितरणका लागि बागलुङमा बसेको सरोकार भएकाहरुको बैठकले आजै आकस्मिक राहत वितरण गर्ने निर्णय गरेको छ।