सरकारले भारतबाट ३० हजार मेट्रिक टन चिनि किन्ने

बैशाख १९, काठमाडौं–
स्वेदशमा उत्पादन हुने चिनिले बजार माग पूरा गर्न नसक्ने भएकाले सरकार भारतबाट ३० हजार मेट्रिक टन चिन्ने किन्ने तयारीमा छ ।
अर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने अन्तिम तयारी गरिरहेको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्नेछ ।
साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित बनेको छ । त्यसैकारण सरकारले भारतबाट चिनी आयात गर्न अनुमति दिएको आपूर्ति मन्त्रालय स्रोतले बतायो ।
आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । अर्थले भने ३० हजार मेट्रिक टन मात्रै ल्याउन स्वीकृति दिने तयारी गरेको छ ।
बितेको क्रसिङ सिजनमा नेपालमा १ लाख ६७ हजार मेट्रिक टन मात्रै चिनी उत्पादन भएको सरकारको प्रारम्भिक अनुमान छ । नेपालमा वार्षिक रुपमा २ लाख ५५ हजार टन चिनी खपत हुने गरेको छ ।
नेपालको उत्पादन मात्रैको भर पर्दा बजारमा चिनी अभाव हुनसक्ने भन्दै भारतबाट चिनी किन्न लागिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई बताए ।
चिनी उद्योगीले पर्याप्त उखु नहुँदा मुख्य क्रसिङ सिजनमा २ महिना मात्रै उद्योग चलेको बताएका छन् । उद्योगहरुले बेलैमा किसानलाई खरिद गरेको उखुको मूल्य नदिने समस्याले यो वर्ष चिनीको उत्पादन घटेको हो ।