न्युयोर्कमा नेपाली बस्तुको प्रदर्शन

बैशाख १९, कामठाडौं–
अमेरिकाको राजधानी न्युयोर्कमा आगामी सेप्टेम्बरमा नेपालमा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेला हुने भएको छ ।
वल्र्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको मुटु म्यानहटनको पियर ९२ मा मेला आयोजना गर्न लागेको हो । आयोजकको दावी अनुसार अहिलेसम्म विदेशमा भएका नेपाली मेलाभन्दा यो सबैभन्दा ठूलो हुनेछ ।
मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री, जडिबुटी, थांका पेन्टिङ, पस्मिना, कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, नेपालको मूर्तिकला, गहनालगायतका सामग्री प्रदर्शनीमा राखिने आयोजक संस्थाका अध्यक्ष रेग्मीले जानकारी दिए ।
नेपाली उत्पादनको अमेरिका हुँदै विश्वभर बजार विस्तार गर्न सघाउने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा नेपालसहित विश्वभरका ब्यवसायी र उत्पादकले सहभागिता जनाउने वर्ल्ड बिजनेशका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताए । मेलामा ७० प्रतिशतभन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट र बाँकी अन्य मुलुकबाट विश्वभरीबाट सहभागी हुने उनले बताए ।
मेलालाई सफल पार्न संस्थाले नेपाल सरकार, उद्योग बाणिज्य महासंघ, चेम्बर अफ कमर्स लगायतका निकायसँग छलफल र सहकार्य गरिरहेको छ ।
अमेरिकाले नेपाली तयारी पोशाकलगायतका सामग्रीमा भन्सार छुट सुविधा उपलब्ध गराउने गरी अमेरिकी राष्टपति बाराक ओबामाले नेपाललाई विशेष ब्यापार ग्राहृयता दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेलगत्तै मेला हुन लागेको हो ।
यस कानुनले गलैँचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामग्री लगायत ६६ प्रकारका सामग्रीहरू मा भन्सारछुट सुविधा उपलब्ध गराउनेछ । अमेरिकाले भन्सार छुट दिने भएपछि झण्डै ७० प्रतिशत सस्तोमा नेपाली उत्पादन अमेरिकी बजारमा आइपुग्ने निर्देशक सञ्जय थापाले बताए ।