डडेल्धुरा सदरमुकाममा आगलागि

बैशाख १७, डडेल्धुरा –
डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा आज बिहान भिषण आगलागी भएको छ। सदरमुकाम बागबजारमा बिहान ७ बजेदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट २ घर पूर्णरुपमा जलेर ध्वस्त भएका छन्। बागबजारस्थित मदन प्रकास किराना पसल र बैजनाथ कपास उद्योग आगलागीबाट पूर्ण क्षति भएका छन् भने अन्य डेढ दर्जन पसलहरुमा समेत क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलले बताए।

आगलागीबाट भएको क्षतिको एकीन विवरण आउन सकेको छैन। आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली केही समयभित्रै पुगेपनि आवश्यक आगलागी नियन्त्रणका औजारहरु नहुँदा आगो नियन्त्रण लिन कठिनाइ आएको हो।

आगलागी नियन्त्रणको क्रममा ३ जना सुरक्षाकर्मीहरु घाइते भएका छन्। घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भैरहेको छ। सदरमुकाममै आगलागी भए पनि अमरगढी नगरपालिकाको दमकल आगलागी नियन्त्रणका लागि नआएको स्थानीय व्यापारीहरु बताउँछन्। समयमै नगरपालिकाको दमकल नआउँदा आगालागीबाट बढी क्षति भएको स्थानीय व्यापारीहरुको गुनासो छ। स्थानीयका अनुसार खानापकाउने ग्यासको सिलिन्डर पड्केर आगलागि भएको हो । यद्यपी प्रहरीले आगलागिको कारणबारे अहिले सम्म केहि भनेको छैन ।