अनुमति बिनै ड्रोन उडाउने म्यागी मध्यरातमा रिहा

बैशाख १७, सुर्खेत –
स्थानीय प्रशासनको अनुमति बिनै सुर्खेतको आकाशमा ड्रोन क्यामेरा उडाएछि पक्राउ परेकी अमेकिी नागरिक म्यागी डोयन  मध्यरातमा रिहा भएकी छन् । बुधबार सुर्खेतको आकाशमा ड्रोन उडाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेत स्रोतका अनुसार केन्द्रको दवावपछि उनलाई मध्यरातमा रिहा गरिएको हो ।
अनुमतिबिना नै ड्रोन उडाएपछि प्रहरीले सीएनएन हिरोसमेत रहेकी म्यागी र उनका सहयोगी क्यानाडाका नागरिक २५ वर्षीय जेर्मी रेज्मिबललाई बुधबार बेलुका काँक्रेबिहारको जंगलबाट पक्राउ गरेको थियो ।
ड्रोन क्यामेरा उडाउँदै गर्दा पक्राउ परेका उनीहरूमध्ये अमेरिकी नागरिक म्यागीलाई मध्यरातमा नै छोडिएको छ । म्यागी सीएनएन हिरो भएको र उनलाई नियन्त्रणमा राखेर कारबाही गर्दा गलत सन्देश जाने भन्दै प्रहरीले राति नै छाडेको जनाइएको छ ।
म्यागीलाई छोडिएको भए पनि उनीसँगै पक्राउ परेका क्यानाडाका नागरिक जेर्मी रेज्मीबललाई मात्र राजधानी पठाइएको छ । केन्द्रको दबाबपछि प्रहरीले रातारात जेर्मीले मात्र ड्रोन उडाएको कागज बनाएर थप अनुसन्धानका लागि भन्दै बिहीबार काठमाडौं पठाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जेर्मीलाई प्रहरीको एक टोलीले अनुसन्धानका लागि काठमाडौं लगेको छ । जेर्मीलाई नागरिक उड्डयन प्राधिकरणको जिम्मा लगाइने र प्राधिकरणले नै आवश्यक कारबाही गर्ने सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले बताए । पक्राउ परेका जेर्मीले भने प्रहरीसँग आफूले म्यागीको निर्देशनमा नै ड्रोन उडाएको बयान दिएका छन् ।
नेपालको कानुन अनुसार स्थानीय प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामेरा उडाउन पाइने व्यवस्था छ । तर, उनीहरुले सुर्खेतमा ड्रोन उडाउने अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
कानुनमा अनुमति विना ड्रोन क्यामेराको प्रयोग गरेर फोटो लिएमा वा भिडियो रेकर्ड गरेको पाइएमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ ।