‘हत्या नगरेपनि जेलजीवन भोग्दै महिला’

अन्जली रम्तेल
काठमाडौँ– ‘मेरा श्रीमान् जीउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’– घरायसी झगडाका बेला घाइते भएका श्रीमान्को हत्या प्रयास गरेको भन्दै जेल पुगेकी काभ्रेकी एक महिलाको भनाई हो यो ।
हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती महिलाको काखमा दुई वर्षकी छोरी थिइन् । उनले     आफ्नी छोरीलाई देखाउँदै भनिन्–‘यो छोरी यहीँ जन्मिएकी हो । जेलमा परेपछि यहीँ जन्माएँ । तर अहिलेसम्म यसका बाउले एक पटक पनि हेर्न आएका छैनन् ।’
सधैँ जाँड खाएर झगडा गर्ने अनि कुटपिटबाट आजित भएपछि एकदिन उनले पनि हात फर्काइन् । तर हात फर्काएकै बेला उनका श्रीमान् नराम्ररी घाइते भए । उनलाई परिवारका अन्य सदस्य र छिमेकीले अस्पताल पु¥याए । उपचार भइरहँदा उनलाई भने ज्यान मार्ने उद्योगको आरोप लगाएर प्रहरीले समात्यो । अहिले उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेकी छिन् । दुई वर्षदेखि जेलमा बसिरहेकी उनलाई यो पनि थाह छैन की अझै कति वर्ष जेलमै बस्नुपर्ने हो ।
कक्षा ६ सम्म मात्र पढेकी ती महिलालाई अब त यहीँको वातावरण रमाइलो लाग्न थालेको छ । ‘कम्तिमा रातदिन कुट्ने लोग्नेको अनुहार त हेर्न पर्दैन’–उनले हाँस्दै भनिन् ।
उनीजस्तै बिना अपराध जेल जीवन भोगिरहेकी दोलखाकी अर्की महिलालाई पनि अभियोग उस्तै लागेको छ श्रीमान्को हत्या । २०७० सालमा अचानक उनको श्रीमान्को लाश भेटिएको थियो । काठमाडौँमा गलैँचा बुन्ने काम गर्दागर्दै उनीहरुको प्रेम बसेको थियो ।
प्रेममा परेपछि उनीहरुले छिटै नै विवाह पनि गरिहाले । ‘लोग्नेस्वास्नीबीच सामान्य झगडा त भइ नै हाल्छ नी हैन र?’उनले प्रतिप्रश्न गर्दै भनिन्– ‘तर एक्कासी श्रीमान्को लाश खोलमा भेटिएपछि त्यसको शंका मैमाथि भयो । पुलिसले मलाई नै समात्यो । बिनाकारण मैले मेरो लोग्नेलाई किन मार्थेँ तर पुलिसले मलाई विश्वास गरेनन् ।’
उनका अनुसार प्रहरीले उनलाई कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न लगाएको थियो । साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाह छैन । पढाईका नाममा अक्षर पनि चिन्न नसक्ने उनका लागि वकिल, केश लडिदिने कस्ले ? सायद यसबारे जानकारी भए उनी पनि आफ्नो पक्षमा वकालत गर्न लगाउँथिन् होला ।
तीन छोराछोरीकी आमा नुवाकोटकी अर्की महिलाको हातबाट अचानक जघन्य अपराध हुन पुग्यो । ‘मैले मार्ने मनसायले उसलाई हानेकी थिइन् तर मेरै चोटका कारण उसको मृत्यु भयो’, उनले भनिन्–‘सधैँ कचकच गर्ने, अरुसँग अनैतिक सम्बन्ध छ भनेर शंका गरिरहन्थ्यो । जाँडरक्सी खाएर आउने अनि कुटपिट गर्ने । सधैँ कति सहनु मैले पनि हात उठाएँ त्यसैदिन उ म¥यो ।’
‘मेरो जीन्दगी त सधैँ कुटपिटमै बित्ने भयो तर तीन छोराछोरीको जीन्दगी राम्रो पार्ने सपना थियो । तर यो सपना पनि सपनामा नै रहने भयो’– उनले सुस्तरी भनिन् ।
चार वर्षदेखि कारागारको जीवन बिताउन बाध्य ती महिलाको साथमा ३ वर्षकी छोरी छिन् । उनका अरु छोराछोरीलाई विभिन्न सङ्घसंस्थाले पढाउन लगेको उनले बताइन् । ‘यो छोरी सानी भएकीले मसँग बसेकी छे । अलि ठूलो भएपछि यसलाई पनि कुनै सङ्घसंस्थाले पढाउन लगिहाल्छ’–उनले निर्धक्क भएर भनिन् ।
साधारण जानकारी नहुँदा आफ्नो सम्पूर्ण जीवन नै जेलभित्र बिताउन बाध्य महिलाको सङ्ख्या सयौँ छ केन्द्रीय कारागार सुन्धारामा । आफूले गर्दै नगरेको अपराधको सजाय समेत भोगिरहेका छन् महिलाले । उनीहरुलाई कस्तो अपराधका लागि कति अवधिको सजाय हुन्छ भन्नेसम्म पनि थाह नभएको देखियो । जेलभित्रका महिलाका क्षेत्रमा कार्यरत बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरले भनिन्–‘सूचनाको हक नपाएको स्थितिमा महिलाले कतिसम्म पीडा भोग्न बाध्य हुन्छन् भन्ने कुरा यहाँ प्रमाणित हुन्छ । यदि उनीहरुलाई आफ्नो अपराध र यससम्बन्धी कानुनबारे जानकारी भए सायद उनीहरुको त्यतिका वर्ष जेलमा बित्न थिएन ।’
उनीहरु भन्दा पनि कैदीबन्दीका साना केटाकेटीको अवस्था अझ दयनीय रहेको उनी बताउँछिन् । उनीहरुको यस्तै अवस्थासँग परिचित इन्दिराले कैदीबन्दीका बालबालिकालाई पढाउने र राख्ने व्यवस्था समेत गरेकी छिन् । अहिले उनले आफ्नो संस्थामा ४५० को सङ्ख्यामा त्यस्ता बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।
सुन्धारा केन्द्रीय कारागारमा रहेको महिला कारागारमा अहिले ३२५ महिला कैदी बन्दी रहेका छन् । कारागार प्रमुख वेदप्रसाद कार्कीका अनुसार यो सङ्ख्या घटबढ भइरहने हुनाले यही निश्चित सङ्ख्या भने होइन ।
कारागारको क्षमताभन्दा कढी महिला कैदीबन्दी भएकाले होला त्यहाँ महिला निकै अव्यवस्थित रुपमा बसेका थिए । साघुँरो ठाउँमा नुहाउने, लुगा धुने, लुगा सुकाउने गर्दा त्यहाँ निकै फोहोर र दुर्गन्धित देखिएको थियो ।
बेला–बेलामा विभिन्न सङ्घसंस्थाले कारागारमा महिलालाई अभिमुखिकरण कार्यक्रम गरेपनि त्यो त्यति प्रभावकारी देखिएन ।