१७ औँ स्मृति दिवसमा मनमोहन अधिकारीको सम्झना

वैशाख १३, काठमाडौं– प्रथम जननिर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औँ स्मृति दिवसमा आज स्वर्गीय अधिकारीको योगदानको स्मरण गरिएको छ ।

सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरे भने विभिन्न वामपन्थी नेताले उनले वाम प्रजातान्त्रिक आन्दोलनमा निर्वाह गरेको योगदानको चर्चा गरे।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलन यहाँसम्म आइपुग्नुमा नेता अधिकारीको भूमिका अविस्मरणीय रहेको बताए । ओलीले भने, “देशको इतिहासमा अधिकारीको नाम छुट्नु हुँदैन । छुट्न सक्दैन ।”

एमालेका नेता माधवकुमार नेपालले अधिकारीको नेतृत्वमा तत्कालीन माक्र्सवादी र माले एकीकृत भई आजको एमाले बनेको र उनको योगदान कसैले भुल्न नसक्ने बताए । यस्तै एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादीका नेता अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीलगायतले पनि स्वर्गीय अधिकारीको योगदानबारे बोल्दै उहाँको सम्मानका लागि सबै कम्युनिस्ट एक भई संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।

विसं १९७७ मा जन्मिएका पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का पूर्व अध्यक्ष अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो । उनी २०४७ मा पार्टी एकीकृत भएपछिको पहिलो अध्यक्ष थिए । उनकै नेतृत्वमा एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा संसद्मा ठूलो दलको हैसियत पाएपछि बनेको नौ महिने सरकार आफ्नो गाउँ आफैँ बनाउँ जस्ता कार्यक्रमबाट लोकप्रिय बनेको थियो ।