भाग्यले बाँचेकाहरु हेर्दा भावुक भए सञ्चारमन्त्री, चार जनाले पाए जीवन विमा

वैशाख १३, काठमाडौं– ठीक एक बर्ष अघि अर्थात गएको बैशाख १२ गते मृत्युको मुखमा पुगेका थिए भक्तपुरका सोनिस अवाल । २२ घण्टापछि नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको टोलीले उनलाई सकुशल उद्दार गरे । त्यसपछिका दिनमा सँधै चर्चाको केन्द्रमा रहेका सोनिस अवाल आइतबार राजधानीमा आफ्नो जीवन बिमाको प्रमाण पत्र थाप्दै थियो । प्रसंग जुराइदिएको थियो– चर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरुले ।
भाग्यले बाँचेकाहरुका पात्र समेत रहेका सोनिस संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्की, नेपाल लाइफ इन्स्योरेन्सका सिइओ विवेक झा, वृत्तचित्रका निर्देशक गणेश पाण्डे तथा उनका उद्दारक दीपक राई र विकास केसीबाट जब संयुक्त रुपमा जीवन बिमाको प्रमाणपत्र थाप्दै थिए, उनी निकै खुसी मुद्रामा देखिन्थे । यी अबोध बालकलाई देख्दा धेरैको मन हर्षबिभोर बनेको थियो । यस्तै पीडामिश्रित क्षण बनेको अर्घाखाँचीका ऋषि खनाल, दैलेखका रमेश खत्री र मकवानपुरकी प्रिया विश्वकर्मालाई जीवन बिमाको प्रमाणपत्र थमाउँदा । कार्यक्रममा भाग्यले बाँचेकाहरुमा पात्रका रुपमा समावेश गरिएका पात्रहरुलाई सम्मान मात्र गरिएन, उद्दारकहरु सशस्त्रका निरीक्षक लक्ष्मण बस्नेत र दीपक कोइराला तथा नेपाली सेनाका दीपक राई र विकास केसीलाई सम्मान पनि गरियो ।

‘डकुमेन्ट्री एकदमै भावनात्मक खालको रहेछ । मेरो गला अवरुद्ध भयो । भावुक बनायो । व्यवस्थित हिसाबले म बोल्नै सकिन ।’– संचारमन्त्री राईले भने ।

भाग्यले बाँचेकाहरुले विनाशकारी भूकम्पको प्रभाव देखाएको र प्रभावित सम्पूर्ण ठाउँहरुको प्रतिनिधित्व गरेको मन्त्री राईले बताए । ‘धेरै मान्छेले पूर्नजीवन पाएको कुरा, नेपालीहरुले त्यति ठूलो विपत्तिको सामना गरेको, प्रहरी सेनाको सक्रियता, जोखिम मोलेर मान्छेहरु उद्दार गरेको क्षण निकै साहसिक देखिन्छ’ उनले भने– ‘यी कुराले मेरो मन छोयो । साथै अन्तर्राष्ट्रिय जगतमा ध्यान आकृष्ट गरेको कुरा पनि महत्वपूर्ण छ ।’