सुनौला १००० दिनहरु जनजागरण अभियान सुरु

वैशाख ९, काठमाडौं– गर्भमा रहेको बच्चा र जन्मेको दुई वर्षसम्म आमा र परिवारले गर्नुपर्ने हेरचाह, खानपानबारे जनचेतना ल्याउने उद्देश्यले आजदेखि सुनौला १००० दिनहरु जनजागरण अभियान सुरु गरिएको छ । युनिसेफ, राष्ट्रिय योजना आयोग, स्वास्थ्य मन्त्रालयलगायतका निकायको सहकार्यमा सो अभियानको शुभारम्भ गरिएको हो । नेपालका महिला, बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन पनि यो अभियान महत्वपूर्ण रहेको स्वास्थ्यमन्त्री रामजनम चौधरीले बताए । मन्त्री चौधरीले भने—‘सो अभियानले महिला, बालबालिका तथा किशोरकिशोरीलाई मात्र फाइदा पुग्दैन, यसले देशलाई समृद्ध समेत बनाउँछ ।’ योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि पोषणमा सुधार ल्याउन जरुरी रहेकाले नेपाल सरकारले महिला र बालबालिकामा रहेको कुपोषण घटाउन प्रतिबद्ध छ भने । सरकारले नेपालमा मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । नेपालमा अझैपनि आमा तथा बालबालिकाको मृत्युको प्रमुख कारण कुपोषण भएकाले सो योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने छ । १००० दिनको अवधिमा उचित्र पोषणले महिला तथा बालबालिकाको स्वास्थ्य र जीवन सुधार्न सक्छ भने रोगबाट हुने मानवीय र आर्थिक भार समेत घटाउँछ ।