फस्टाउँदै जडिबुटी उद्योग

यादव ओझा
काठमाडौं–अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग सहज हुँदै गएपछि जडिबुटीजन्य उद्योग फस्टाउँदै गएका छन् । केही समय अगाडि कच्चा पदार्थको रूपमा मात्र निर्यात हुने जडिबुटी  उद्योग फस्टाउँदै गएपछि स्वदेशमै प्रशोधन हुन थालेको छ । प्रविधिको विकासले साना तथा ठुलो लगानीमा जडिबुटीसम्बन्धी उद्योग संचालन गर्ने समेत बढेका छन् ।
सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷७२ सम्म १ हजार ५ सय ५० जडिबुटीजन्य उद्योग स्थापना भएका छन् । जसमध्ये हाल ७ सय ५० उद्योग संचालनमा रहेको जनाइएको छ । जटिबुटी उद्योगमा लगानीसँगै उत्पादनको बजार समेत बढ्दै गएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोबिन्द घिमिरे नेपाली जडिबुटीजन्य उत्पादनको बजार संभावना बढ्दै गएको बताउँछन । ‘पछिल्लो समय नेपाली जडिबुटीजन्य उत्पादनको बजार बढ्दो क्रममा छ । वार्षिक औषत ५ प्रतिशतका दरले नेपाली जडिबुटीजन्य उत्पादनले बजार विस्तार गरिरहेका छन्,’ उनले भने, ‘बजार संभावना बढेकाले ठुलो मात्रामा लगानी समेत बढदै गएको छ ।’
उद्योग विभागको तथ्थाङ्क अनुसार जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रबाट हालसम्म करीब रू. ५ अर्ब ५० करोड लगानी भएको छ । र, वार्षिक करीब रू. ५० करोडका दरले नयाँ लगानी भइरहेको तथ्याङ्कले देखाउँछ । नेपालमा पाइने बहुमूल्य जडिबुटी समेत स्वदेशमै प्रशोधन भएर बाहिर निर्यात भइरहेको व्यवसायीको भनाइ छ । बनस्पती विभागको अनुसन्धानले नेपालमा २ सय ६० प्रकारका वनस्पती जडिबुटीकोरूपमा प्रयोग गर्न मिल्ने खालका छन् । जसमध्ये हाल ६० प्रकारका जडिबुटीको नेपालमै प्रशोधन हुन्छ ।
जडिबुटीजन्य बस्तु अन्तर्गत पछिल्लो समय औषधी, श्रङ्गार र दैनिक उपभोग्यका अन्य सामग्रीको उत्पादन बढ्दै गएको छ । अन्तरराष्ट्रिय प्रविधिको प्रयोगबाट उत्पादन हुने नेपाली जडिबुटीजन्य सामग्री गुणस्तरका हिसावले समेत प्रतिस्पर्धी भएको उद्योगी बताउँछन् । ‘पछिल्लो समय धेरैजसो नेपाली उपभोक्ताले स्वदेशी हर्वलकै सामग्री प्रयोग गर्छन्,’ काठमाडौंमा हर्वल उद्योग संचालन गरिरहेका संयम श्रेष्ठले भने, ‘नेपाली उत्पादन गुणस्तरका हिसावले समेत अरु देशका उत्पादनसँग प्रतिस्पर्धा गर्ने खालका छन् ।’
आर्थिक वर्ष २०७०÷७१ सम्म नेपाली जडिबुटीजन्य उत्पादनले आन्तरिक बजारमा ५ प्रतिशत हिस्सा ओगटेको थियो  । चालु आवको माघ मसान्तसम्मकोे आन्तरिक बजार हिस्सा बढेर १५ प्रतिशत पुगेको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार नेपालमा वार्षिक करीव रू. ७ अर्ब बराबर जडिबुटीजन्य वस्तुको उत्पादन हुन्छ ।