सभापति देउवा आज नयाँदिल्ली जाँदै, भेटघाटको कार्यक्रम लुकाइयो

वैशाख ६,काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् ।

नयाँदिल्लीमा उपचार गराइरहेकी पत्नी आरजु राणा देउवाको स्वास्थ्य हेरफेर गर्न देउवा त्यसतर्फ जान लागेको आफन्तले जनाएका छन् ।

सभपाति देउवा बिहान १० बजे जेट एयरलाइन्सको विमानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

स्वास्थ्योपचारका लागि पत्नी आरजु देउवा भने गत वैशाख २ गते नै दिल्ली पुगिसकेकी छिन् ।

कम्मर र थाईबीचको हाड जोर्नीको समस्याबाट पीडित देउवा पत्नी एवं सांसद आरजुको दिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया हुन लागेको छ ।

देउवा चार दिन भारतमै रहनेछन् । देउवा वैशाख १० गतेसम्म स्वदेश फर्कने कार्यक्रम छ ।

नयाँदिल्लीमा रहँदा सभापति देउवाले भारतीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको कार्यक्रमलाई देउवा निवासले लुकाएको छ ।