सरकारको विकल्प खोज्ने बेला भएको छैन ः भट्टराई

बैशाख ३, बिराटनगर–
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले अहिले नै वर्तमान सरकारको विकल्प खोज्ने बेला नभएको बताएका छन् । यही सरकारलाई काम गर्न दवाव दिनु पर्नेमा जोड दिँदै उनले विकल्पको बारेमा अहिले नै सोच्न नसकिने बताए ।
सप्तरीको भारदहमा मधेस जागरण अभियान कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक भट्टराईले सरकारका काम कारबाही सुस्त भएका कारण दबाब दिन आवश्यक रहेको बताए ।
सरकार परिवर्तन गर्दा फेरी राजनीतिक अस्थिरता हुने भन्दै भट्टराईले सत्तापरिवर्तनको खेलमा नलाग्न दलका नेताहरुलाई आग्रह गरे ।
मधेसमा देखिएका समस्या समाधान गर्नका लागि मोर्चा र सरकार वार्तामा बस्नुको विकल्प नभएको उनको भनाइ थियो । मधेसको मुद्धा राजनीतिक विषय भएकाले वार्ता तथा छलफलबाट मात्र समस्या समाधान हुने हुँदा गम्भिर हुन उनले सरकारलाई आग्रह गरे ।