खडेरी पीडितलाई राहतको व्यवस्था गर्न प्रचण्डको माग

बैशाख ३, मुगु–
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोकमरीबाट पीडित मुगुबासीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

मुगुमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खडेरीसँग जुधिरहेको मुगुमा तत्काल खाद्यान्य उपलब्ध गराउन आफूले पहल गर्ने आश्वासन समेत दिएका छन् ।

उनले पहिलेका सरकारहरुले कर्णालीलाई दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको भन्दै अव त्यस्तो नहुनेमा ढुक्कहुन मुगुवासीलाई आग्रह गरे । उनले भने ‘यस अघिका सरकारले कर्णालीलाई दोस्रो दर्जाको रुपमा लिए, अव त्यस्तो हुँदैन ।’

अध्यक्ष प्रचण्डले मुगुमा रहेको रारा ताललाई पर्यटकीय रुपमा विकास गर्दै पर्यटकको आकर्षण बढाउनुपर्ने जोड दिए । उनले चीनसँग सीमाना जोडिएको नाक्चेलग्ना नाका खोल्न सरकारसँग माग गरे ।

एमाओवादीका अर्का नेता जनार्दन शर्माले मुगुबाट देशले फाइदा लिनसक्ने धेरै वस्तुभएपनि लिन नसकेको बताए । उनले मुगुको विकासले देशको समग्र विकास हुने उल्लेख गरे ।

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा मुगुवासीले जिल्लाको नाम परिवर्तन गरी रारा राख्नुपर्ने, गमगढी सडकको स्तरउन्नती लगायतका काम गर्न पहल गरिदिन दाहालसँग आग्रह गरेका थिए ।