सम्झौता अघि बनेका घरलाई पनि अनुदान दिइने

चैत २९, काठमाडौं–राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सम्झौता हुनुअघि भूकम्प प्रतिरोधी घर निर्माण प्रारम्भ भएको अवस्थामा पनि अनुदान रकम उपलब्ध हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको तेस्रो बैठकले भूकम्पपीडितले आफै घर निर्माण प्रारम्भ गरेको र त्यस्तो घर तोकेका प्राविधिकले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा अनुदान उपलब्ध गराउन सकिने निर्णय गरेको हो।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार केन्द्रीय तथ्याङ्ंक विभागद्वारा सङ्कलित भूकम्प प्रभावित लगत कार्यक्रमअन्तर्गत सङ्कलन गरिएको तथ्याङ्कमा नाम समावेश भएका तर अनुदान सम्झौता हुनुअगावै घरधनी स्वयम्ले घर निर्माण कार्य प्रारम्भ गरिसकेका घरधनी लाभग्राहीको हकमा निर्मित वा निर्माणाधीन उक्त घर तोकेका प्राविधिकले चेकजाँच गर्दा भूकम्प प्रतिरोधी भएमा अनुदान उपलब्ध गराउन सकिने निर्णय गरेको हो।

बैठकले ग्रामीण आवास अनुदान मापदण्ड परिमार्जन सम्बन्धमा कार्यकारी समितिले गरेको सिफारिसअनुरुप २०७२ वैशाख १२ अगावै सम्बन्धित मालपोत कार्यालयमा अंशबन्डा कागज पारित गरेका घर परिवारलाई छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराइने तर, अंशबन्डा कागज अड्डाबाट पारित नगरेको भए तापनि वैशाख १२ गतेअगावै मानो छुटिई छुट्टै घर बनाई बसेको र तथ्याङ्क विभागद्वारा सङ्कलित तथ्याङ्कमा परेको र छुट्टिभिन्न भई अलगअलग घर बसोबास गरेको अवस्थामा स्थानीय गाविस र नगरपालिकाका प्रमुख वा निजले तोकेको कर्मचारीको रोहबरमा हुने सजिर्मिनको आधारमा शर्त तोकी पुष्टि भएमा त्यस्तो भूकम्प प्रभावित व्यक्तिलाई समेत छुट्टै घर परिवारमा गणना गरी अनुदान उपलब्ध गराउने पनि निर्णय गरेको छ।