‘खुट्टा नभएर के भो त?’

अन्जली रम्तेल
काठमाडौं–  विसं २०६२ सम्म तिलक पोखरेलले नेपाली सेनामा रहेर देशको सेवा गरे । द्वन्द्वका क्रममा लागेको चोटका कारण उनको दुवै खुट्टाले काम गर्न छाड्यो र उनी अवकाशको जीवन बिताउन थाले ।
केही समय त उनलाई जीवनदेखि दिक्क नलागेको पनि हैन, उनी भन्छन्–‘जीवनमा के के गरुँला भन्ने सोँच राखेको मान्छेको खुट्टाले काम दिन छाडेपछि के हालत होला? तपाई अनुमान गर्न सक्नुहुन्छ ।’
जीवन सधैँ निराशामा मात्र कहाँ बित्दो रहेछ र, उनले पनि फेरी खुशी हुने आसालाई जीवनमा स्थान दिए । फलस्वरुप अहिले उनलाई जीवनसँग कुनै गुनासो छैन । अपाङ्गता भएपनि जीवनमा उनले अहिले खेलकुदलाई आफ्नो साथी बनाएका छन् ।
अघिल्लो वर्ष मात्र भएको अन्तर्राष्ट्रिय अपाङ्गता बास्केटबल प्रतियोगितामा उनी सहभागी नेपाली टिम उपविजेता बन्याो । यसअघि विजेता भएको नेपाल यो पटक भने दोस्रोमा चित्त बुझाउनुप¥यो । ‘तर खेलाडिको कारणले हैन’, उनले थपे–‘हाम्रो खेल दक्षिण एसियामा नै राम्रो छ तर खेल्ने बेलामा स्पोट्र्स चियरमा बसेर खेल्नुपर्ने थियो । तर हाम्रो व्यवस्थापनमा हुने कमजोरीका कारण हामीले खेल जित्ने मौका चुकायौँ । खेल सुरु भइसकेपछि मात्र स्पोट्र्स चियर ल्याइएको थियो ।’     सो खेलमा नेपालले अष्ट्रेलिया, जापान, भारतलगायतका मुलुकलाई पराजित गरेको थियो ।
स्याङ्जाका तिलकलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेल्ने रहर अझै मेटिएको छैन । नेपालमा पनि विभिन्न समयमा अपाङ्गता भएकाबीच हुने खेलकुद प्रतियोगितामा उनको सक्रिय सहभागिता रहँदै आएको छ ।
खेलकुदलाई आफ्नो साथी बनाएका धनकुटाका डिगमसिंह चेम्जोङ् पनि जीवनमा केही धन कमाउने र सुखी बन्ने चाहनाका साथ आठ वर्षअघि कतार पुगेका थिए । तर मोटरसाइकल दुर्घटनामा परी ‘स्पाइनल इन्जुरी’ भएपछि  उनको जीवनमा पनि ह्विलचियर साथी बन्न आइपुग्यो ।
दुर्घटना भएको १७ दिनपछि त्यहीँको पुनःस्थापना केन्द्रमा बसेपछि उनको जीवनमा आसाका किरण देखिए । त्यहाँ भएका अन्य अपाङ्गता भएका व्यक्तिलाई देखेपछि उनले पनि आफ्नो जीवनलाई खुशी बनाउने माध्यम खोजे । ‘त्यहाँ अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न आयआर्जन गर्ने सीपमुलक तालिमको समेत व्यवस्था रहेछ’, उनले भने–‘नसोचेको कुरा जीवनमा भएपनि पहिले त म निकै आत्तिएँ । तर त्यससँगै त्यो समस्याबाट कसरी बाहिर आउने भन्ने समाधानका उपाय पनि सँगै आउँदो रहेछ । मलाई पनि त्यस्तै भयो, त्यहीँ मैले बास्केटबल, पौडी, टेबल टेनिसलगायतका खेल खेल्ने सिकेँ ।’¬
उनले त्यहाँ सिकेका कुरा नेपालमा फर्केपछि पनि छाडेनन् फलस्वरुप उनी पनि तिलकसँगै विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइरहेका छन् । मिडियाले उनको बारेमा लेखिदिँदा र समाचार छापिँदा निकै खुशी लाग्दो रहेछ । ‘मिडियामा आफ्नो बारेमा समाचार र फोटो आउँदा फ्रेस फिल हुँदो रहेछ । यसले मलाई आफ्नो पीडा भुल्न मद्दत गरेको छ ।’¬¬¬– उनले खुशी हुँदै सुनाए ।
पाँच वर्षअघि रुखबाट खसेका कारण स्पाइनल इन्जुरी भएका रामेछापकी हेमकला सुनुवारलाई पनि अन्तर्राष्ट्रिय खेलकुदको अनुभव छ । पाकिस्तानसँग अपाङ्गता भएका महिलासँग क्रिकेट खेल्दा नेपालको खेलकुद निकै स्तरीय रहेको उनको अनुभव थियो । ‘त्यहाँका खेलाडिले त्यति अभ्यास गरेको पाइएन’,उनले भनिन्–‘उनीहरुको दाँजोमा हाम्रा खेलाडि धेरै राम्रा थिए ।’ उनीहरुको समूहले पनि त्यो खेल जितेर फर्किएको थियो ।
शनिवारका दिन उनी साथीहरुसँग नियमित खेलकुदको अभ्यास गर्ने भएपनि गत वैशाखको भूकम्पपछि भने नियमित हुन नसकेको उनले सुनाइन् । क्रिकेटका साथै बास्केटबलमा पनि उनी निकै पोख्त छिन् । अपाङ्गता भएका साथीहरु भेटियो की समय छ भने बास्केटबल कोर्टमा बल तानातान गर्न उनीहरु तम्सिहाल्छन् । नियमितको खेल अभ्यासले उनीहरु अझ खारिएका छन् ।
विगत १७ वर्षदेखि पक्षघातका कारण खुट्टा गुमाएका काभ्रेका केशव तिमल्सिना पनि खेलकुदलाई समय बिताउने र जीवनमा ताजगी दिने माध्यमका रुपमा हेर्छन् । पहिला खेलकुदमा त्यति मन नजाने केशवलाई तब खेलकुदले तान्यो जब २६ वर्षको उमेरमा उनी रुखबाट झरेर पक्षघातको सिकार भए । ‘गाउँमै स्याउला काट्न जाँदा रुखबाट खसेँ । राम्रो उपचार तत्काल नपाउँदा पक्षघाट भयो ।’ –उनले भने ।
बास्केटबल खेलाडि हुन भने उनलाई खुट्टाले रोकेन । खुट्टा नहुँदा पनि उनी अन्य सबलाङ्गले झैँ बास्केटबल खेल्न सक्छन् । उनी अहिले जावलाखेल बास्केटबल क्लबबाट प्रतियोगितामा भाग लिन्छन् । शनिवार उनको नियमित खेलकुद अभ्यास गर्ने दिन भएपनि अन्य दिन पनि फुर्सद पायो की बास्केटबल कोर्टमा नै भेटिन्छन् ।
नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद सङ्घले यस्ता अपाङ्गता भएकाहरुबीच समय–समयमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष गायत्री दाहाल स्वयम् पनि स्पाइनल इन्जुरीको सिकार छिन् । १२ वर्षको उमेरमा पिङ् खेल्ने क्रममा झर्दा उनलाई स्पाइनल इन्जुरी भयो जस्को कारण उनी जीवनभर नै ह्विलचियरलाई साथी बनाउन पुगिन् ।
त्यही क्रममा उनलाई बास्केटबल खेल्ने ‘आइडिया’ आयो । उनले भनिन्–‘हामी दुई÷चार जना यस्ता अपाङ्गता भएका थियौँ । एक आपसमा सल्लाह गरेर हामीले सङ्घ खोल्यौँ अनि अहिले सबैलाई एकीकृत गर्दै जाँदा अहिलेको टिमसम्म आइपुग्यौँ ।’
‘सुरुवातका दिनमा हामीले खोलेको सङ्घका बोर्ड मेम्बर नै एकआपसमा टिम बनेर खेल्यौँ । पछि बिस्तारै अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने खेलाडि बनायौँ’–उनले सुरुवाती दिनको स्मरण गरिन् । सङ्घले केही दाताको सहयोगमा अपाङ्गता भएकाबीच खेलकुद प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय खेलकुदका लागि खेलाडि तयार गर्ने काम गरेपनि सरकारको तर्फबाट खासै सहयोग नभएकोमा अध्यक्ष दाहालले गुनासो गरिन् ।
‘राष्ट्रकै नाम उचोँ राख्ने काममा हामी सहभागी भएपनि राज्यले भने हामीलाई हेरेको छैन’, उनले भनिन्–‘खेलकुद प्रतियोगिता गर्ने कोर्ट, खेलाडिका लागि आवश्यक ह्विलचियरलगायतका अत्यावश्यक चीजमा समेत सरकारले केही सहयोग गरेको छैन । यतातिर सरकारको ध्यान जान जरुरी छ ।’
नेपालभर स्पाइनल कर्ड इन्जुरीका पीडित कति छन् भन्ने तथ्याङ्क नभएपनि अहिले सङ्घमा ७० जना खेलाडि आबद्ध छन् ।