महिला स्वास्थ्यमा रैथाने ज्ञान

डा अरुणा उप्रेती
– मेरो बिहानको दिनचर्या आलस, तिल र ज्वानो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । यो वस्तुमा पाइने सूक्ष्म पोषक तत्त्व क्याल्सियम र ओमेगा ३ को कारणले मैले यी वस्तु खान सुरु गरेको ३ वर्ष भयो ।

भारतमा स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा जाँदा डा। मिरा शिवाले मलाई सिकाइन् कि आलस र तिल राम्रा वस्तु हुन् । मैले चिनेका धेरै महिलालाई हड्डी बलियो पार्न क्याल्सियमको चक्की खानको सट्टा यही खानुस् भनेर सलाद दिन्छु । अहिले महिलालाई ३५–४० वर्ष पुगेपछि क्याल्सियम चक्की खानैपर्छ भनेर अनेक विज्ञापन आउँछ । धेरै महिला यस्ता महँगा औषधी र बट्टाको खानेकुरा खाएर क्याल्सियम पाएको भन्ठान्छन् । क्याल्सियमका लागि सहजसँंग घरमा पाइने तिल, ज्वानो र आलस प्रयोग नगरेर चक्की किनेर खानुको अर्थ हो, बढी पैसा खर्च गरेर कम पोषण प्राप्त गर्नु ।

नेपालको कुनै पनि ठाउँ छैन होला, जहाँ यी वस्तु पाइँदैन । कस्तुरी मृगझैं आफूसँंग रहेको मालको चाल नपाएर बाहिर भौंतारिने बानीले गर्दा हामीले हाम्रो रैथाने ज्ञान बिर्संदैछौं । भिटामिन डीको कमीले अहिले धेरै महिलाको स्वास्थ्यमा समस्या परेको छ । धेरै स्वास्थ्यकर्मीले भन्छन्, ‘रगतको जाँच गराएर भिटामिन डी खान दिइहाल्छन् । घामबाट प्राप्त गरिने भिटामिन डीबारे चाहिँ कतै छलफल गरिँदैन ।’

मेरी आमा ९८ वर्षकी भइन् । मैले उनलाई हरेक दिन घाममा बस्नुपर्छ र घाममा बस्दा लुगा १५–२० मिनेटको लागि केही फुकालेर ढाड, खुट्टा र हातको नांगो छाला घाम पार्नुपर्छ र यसो गर्दा हाडको स्वास्थ्य राम्रो हुन्छ भनेर सिकाएकी थिएँ । मेरी आमा र म दुबै सूर्य ‘खाने’ गर्छौं र यसले हामीलाई फाइदा गरेको छ । सूर्यलाई बिहान नमस्कार गर्नुको अर्थ सायद सूर्यले दिने ऊर्जाको लागि धन्यवाद होला । सूर्यको भिटामिन डी प्राप्त हुनाले म पनि प्रत्येक दिन सूर्यलाई नमस्कार गर्छु । प्रत्येक नयाँ वर्षमा आफ्नो स्वास्थ्य राम्रो राख्न प्रत्येक दिन केही समय घाममा छाला देखाएर बस्छु भनेर अठोट गरेर त्यही अनुसार बानी बसाले दुखाइबाट मुक्ति मिल्छ र भिटामिन डी खाने पैसा जोगिन्छ ।

पहिले—पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो । तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तर कोठामा राखेर पाउडर दलिरहने चलन छ । यस्तो आधुनिक चलनले सुत्केरी आमा र शिशुको शरीरमा भिटामिन डी पुग्न दिँदैन र यसले गर्दा समस्या धेरै हुन्छन् ।

नेपालमा वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोतलाई वास्ता नगरेर, एकछिन घाममा फुर्सत नभएर जब कोही महिला भिटामिन डीको कमी भएर अनेक समस्यबाट ग्रसित हुन्छन् र डाक्टरबाट जब उनलाई भिटामिन डीको चक्की दिइन्छ, तब उनी खुसीसाथ पैसा तिरेर खान्छिन् । सित्तैमा प्राप्त हुने भिटामिन डीचाहिँ प्रयोग गर्दिनन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया एक महिलाले मलाई भनेकी थिइन्, ‘दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेंँ । ढाड र हाड दुखे पनि सहेर काम गरिनै रहेंँ । डाक्टरलाई देखाउँदा भिटामिन डीको कमी भएको भन्दै घाममा बस्न सल्लाह दिएका थिए । तर बिहानदेखि बेलुकासम्म कामको चक्करले घाममा बस्ने फुर्सत कहाँ हुनु र रु अहिले मेरो ढाड, घुँडा सबै दुख्छ । औषधी खान्छु, तर दुखाइ कम नै हुँदैन । केही समय आफ्नो शरीरको लागि छुट्याएको भए आज मलाई यति गाह्रो हुँदैन थियो कि रु’ उनको यो भनाइले सबै महिलाका लागि आँखा खोल्न सक्छ ।

अहिले अर्को फेसन छ, भिटामिन सीको । रोगसँग लड्ने शक्ति बढाउने भिटामिन सी पाइने अमला, कागती र टुसा उमारेका खानेकुराको सहज पहुँच हामीलाई छ । तर नजिकको तीर्थ होला भनेझैं यस्तो स्वास्थ्यबद्र्धक कुरालाई हेपिन्छ । तर जब डाक्टरले भिटामिन सीको चक्की भनेर लेख्छन्, तब कसैले

पनि केही पनि प्रश्न नगरेर तुरुन्त पसलमा गएर किनिहाल्छन् र भिटामिन खाएर स्वास्थ्य राम्रो पारेँ भनेर त खुसी हुन्छन् ।

कागतीको रस गर्मीमा सर्वत बनाएर खाने चलन तराईतिर छ । अहिले ठूला होटलमा लेमन टि भनेर १००–१५० तिरेर खाँदा आनन्द आउँछ, तर घरमा कागती हालेको चिया खाँदा के हुन्छ रु फरक यति हो, घरमा १०–१५ रुपैयाँ खर्च गरेर ३–४ जनाले कागतीको चिया पिउन सक्छन्, होटलमा ८–१० गुणा बढी तिनुपर्छ । कागतीको बोक्रा पनि त्यति नै लाभदायक हुन्छ । कागती निचोरेपछि बोक्रालाई मसिनो टुक्रा पारेर चियामै हालेर चपाउनुपर्छ । बढी भएपछि कागतीको बोक्रालाई सुकाएर सलाद बनाउन सकिन्छ । कागतीको बोक्रामा रेशादार पदार्थका साथै सूक्ष्म पोषण तत्त्व पनि पर्याप्त पाइन्छ । पानी, कागती र विरेनुनमा चनाको सातु मिसाएर खाँदा पेट भरिन्छ र लामो समय भोक लाग्दैन । गर्मी बेलामा शरीरबाट पसिना धेरै बग्दा रिंगटा लाग्ने हुने भएकाले कागतीको पानी तराईतिर ठाउँ—ठाउँमा बेच्न राखिन्छ ।

भिटामिन सीको महत्त्वबारे पर्याप्त अनुसन्धान भएका छन् । वैज्ञानिकहरू क्यान्सरजस्तो घातक रोगसँग लड्न भिटामिन सीको महत्त्वबारे अध्ययन–अनुसन्धान गरिरहेका छन् । विशेषगरी जाडो मौसममा कागतीको प्रयोगले विभिन्न सङ्क्रमणबाट हामीलाई बचाउन सक्छ । रुघाखोकी लागेको बेला तातोपानी वा चियामा कागती र मह हालेर पिउने गरिन्छ । कागती वाकवाकी ९विशेषगरी गर्भवती अवस्था० रोक्न प्रयोग गरिन्छ । लौहतत्त्व पाइने विभिन्न किसिमका भोजन जस्तै– मासको दाल, गेडागुडी, साग कागतीको रस हालेर खाने हो भने रक्तअल्पतालाई रोक्न सहयोग पुग्छ । यही वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर लौहतत्त्व भएका औषधीमा भिटामिन सी पनि मिसाइएको हुन्छ । तर औषधीमा मिसाइएको भन्दा प्राकृतिक रूपले भोजनमा पाइने कागती राम्रो हुन्छ ।