तेस्रो मुलुकबाट ग्याँस ल्याउने तयारी

चैत २२, काठमाडौं–भारतबाट मागअनुसार ग्यास आयात हुन नसकेपछि सरकारले तेस्रो मुलुकबाट ल्याउने तयारी गरेको छ ।
आपूर्ति मन्त्रालयका अनुसार ग्यासको माग बर्सेनि १३ देखि १५ प्रतिशतले बढेपनि भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले ग्यास दिन नसकेपछि तेस्रो मुलुकबाट ल्याउने तयारी गरेको हो ।

‘मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्दराम रेग्मीले तेस्रो मुलुकबाट ग्यास आयात गर्न नीतिगत तहबाट छलफल भइरहेकाले  मन्त्रिपरिषद्को स्वीकृतिअनुसार तेस्रो मुलुकबाट आयात सुचारु गर्ने जानकारी दिए ।

नेपाल आयल निगमले ग्यासको मासिक कोटा करिब ३० हजार टन तोकेको छ ।

ग्यासको मासिक कोटा ४० हजार टन पुगे ग्यास अभावको समस्या हटेर जाने मन्त्रालयको दाबी छ । भारतमा पनि ग्यासको माग बढ्दै गएकाले तत्काल ४० हजार टन दिन नसक्ने मन्त्रालयले जनाएको छ । ‘घरेलु माग र खपत भारतमा पनि बढ्दै गएको छ, जसले गर्दा आईओसीले मासिक ४० हजार टन दिन सक्दैन,’ प्रवक्ता रेग्मीले भने,  ‘त्यसैले करिब १० हजार टन अन्य मुलुकबाट जोहो गर्न आवश्यक देखिन्छ ।’

अहिले पनि मासिक कोटा करिब ३० हजार टन भए पनि पर्याप्त मात्रामा आयात हुन सकेको छैन । भारतको अघोषित नाकाबन्दीका बेला मागको करिब १५ प्रतिशत मात्रै आयात भएको थियो । आयात भएका ग्यास पनि पहुँचवालालाई मात्रै पुगेको गुनासो छ । माघको अन्तिम सातातिर अघोषित नाकाबन्दी खुलेपछि पेट्रोलियम सहज रूपमा भित्रिन थालेको थियो । आयातमा केही सुधार भए पनि अधिकांश सर्वसाधरणले ग्यास भने पाउन सकेका छैनन् । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार असोज महिनामा ४ हजार ४ सय ९८, कात्तिकमा ५ हजार १३, मंसिरमा ५ हजार २ सय ८७, पुसमा ९ हजार १ सय ४२ टन ग्यास भित्रिएको थियो ।