दुई राप्रपा एक हुने सहमति

चैत २२, काठमाडौं–सत्ता र पदका कारण सधै एकआपसमा जुध्दै आएका राप्रपा र राप्रपा नेपाल अन्ततः एक हुने भएका छन् ।

उच्च स्रोतका अनुसार पदमा भागबण्डा मिलेपछि दुई राप्रपाबीच वैशाख पाँच गते राजधानीमा विशेष कार्यक्रम गरी एकीकरण हुन लागेको हो ।

वैशाख पाँच गते हुने भनिएको एकता कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रिय अध्यक्षमा घोषणा गरिनेछ । कमल थापा एकीकृत राप्रपाको अध्यक्ष हुने छन् । डा प्रकाशचन्द्र लोहनी बरिष्ठ नेता बन्ने स्रोतको भनाइ छ ।

संसदीय दलको नेता पाएका थापाले उपनेता दीपक बोहरालाई बनाउनु पर्नेछ । भागबण्डामा राप्रपालाई प्रशिक्षण विभाग, प्रचार विभाग, युवक र विद्यार्थी विभागहरू परेका छन् ।

एकीकरणपछि दुई कार्यसमितिबाट ४१ सदस्यीय उच्चस्तरीय कार्यसम्पादन समिति बनाउने सहमति पनि दुई राप्रपाबीच भएको छ ।

७५ जिल्लामा गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन असार पहिलो हप्तादेखि गर्न प्रस्ताव गरिएको छ । केन्द्रीय महाविधेशन भने मंसिरको १५, १६ र १७ गते गर्ने प्रस्ताव रहेको बुझिएको छ ।

राजनीतिक कार्यदिशामा अहिलेको संविधानलाई आत्मसात गरेर जाने सहमति गरेको दुबै राप्रपाले हिन्दुराष्ट्र निर्माणको विषयमा संघर्ष गर्ने उल्लेख गरेका छन् ।