पार्टी एकताका विषयमा छलफल गर्न बैठक

चैत २१, काठमाडौं – एकीकृत माओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल गर्दै आएको नेकपा (माओवादी क्रान्तिकारी) ले आज पनि सोही विषयमा आफ्ना केन्द्रीय सदस्यहरूको धारणा बुझ्दैछ ।

झण्डै एकसातादेखि काठमाडौंको बुद्धनगरमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष मोहन बैद्यको राजनीतिक प्रस्तावमाथि टिप्पणी गर्न बाँकी सदस्यहरूले धारणा राख्ने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिए ।

‘उनले भने – ‘धारणा राख्ने सबै सदस्यहरूले छियाछिया परेको माओवादी पार्टी र आन्दोलनलाई एकीकृत गर्नुपर्ने आश्यक्ताका साथ धारणा राखि रहनुभएको छ ।’

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी एकताको पक्षमा टिप्पणी गरे पनि परी थापा समूहले भने एमाओवादीसँग तत्काल पार्टी एकता गर्न नहुने धारणा राखेको बुझिएको छ ।

बैठकमा महासचिव रामबहादुर थापाले पेश गरेको पूरक राजनीतिक प्रस्तावमा पनि सदस्यहरूले टिप्पणी गर्ने गरेका छन् । थापाले एमाओवादीसँग छिटोभन्दा छिटो पार्टी एकीकरण गर्नुपर्ने विषय अगाडि राखेका छन् । बैठक अझै केही दिन लम्बिने बुझिएको छ ।