जागिर माग्दा प्रेमीले नै फसाए, लागुऔषध कोकिनसहित अफ्रिकन युवती पक्राउ

चैत २१, काठमाडौं– पतिसँग छोडपत्रपछि दुई सन्तान एक्लै हुर्काउने दायित्व थपियो, साउथ अफ्रिकाकी एमपाथोनी एमसाइनलाई। ३७ वर्षीया उनी जागिरको खोजीमा थिइन्। त्यही क्रममा केप्टन पार्क बस्ने २८ वर्षे लुइसमाथि उनको नजर पर्यो। क्लब आउजाउ गर्दा झाँगिएको मित्रता प्रेममा बदलियो। २०१४ फेब्रुअरीमा लुइसले राखेको प्रेम प्रस्ताव उनले सहजै स्वीकारिन्।

एमसाइनले प्रेमी लुइसलाई जागिर खोजिदिन आग्रह गरिन्। केही दिनमै लुइसले उनको हातमा केही पैसा थमाइदिए। अनि पासपोर्ट बनाउन अह्राए। छोराछोरी पाल्ने मेसोमा प्रेमीले अह्राएको मान्दै जाँदा लागूऔषध ओसारपसारको गम्भीर पासोमा फसिएला भन्ने उनले सायदै सोचेकी हुँदी हुन्। लागु औषध कारोबारको अन्तर्राष्ट्रिय गिरोहकी सदस्य उनी केही दिनअघि मात्र नेपिालमा पक्राउ परेकी छिन्। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

‘पासपोर्ट बनेपछि उसैले मैले गर्नुपर्ने काम सम्झायो, उनले बयानमा खुलाइन्,‘म केही सामान लिएर इन्डिया जानु पर्ने भयो, त्यहाँ पुगेर गर्नु पर्ने काम उसको भाइ माइकले सम्झायो।’

उनको भारतयात्रा सुरु हुनुअघि लुइस नाइजेरिया फर्किए। जोहनासबर्ग बस्ने उनका भाई माइकले एमपाथोनीलाई केही कपडासहितको सुटकेस, हवाई टिकट र बाटोखर्च ५ सय अमेरिकी डलर थिए।

त्यहीँबाट सुरु भएको थियो एमपाथानीको कोकिन भरिया ‘जागिर’।  लुइसले उनलाई २०१६ मार्च १४ मा दोस्रो पटक प्रस्ताव गरे–कोकिन बोकेर काठमाडौं जाने। काम सकिनासाथ ३ हजार अमेरिकी डलर पाउने प्रस्ताव उनले स्वीकारिहालिन्। त्यसपछि मार्च २४ मा दुबई हुँदै काठमाडौं आइन्। विमानस्थलबाट निस्केर उनी गिरोहकै सेटिङअनुसार ठमेलको खाङसार गेस्टहाउस पुगिन्।

मार्च २७ गते दिउँसो साढे ३ बजे एक युवती होटलमा पुगिन्। उनी थिइन् भारत, नागाल्यान्डकी मेर्सी। एमपाथोनीले झोलाबाट स्याम्पुका पाँच बट्टा निकालेर मेर्सीलाई दिइन्। विमानस्थल भन्साले स्याम्पु थगानेर छाडिदिएको ती बट्टामा खासमा झोल कोकिन रहेछ। त्यति नै बेला कोठामा लागूऔषध नियन्त्र व्युरोको टोली पुग्यो र दुबैजनालाई पक्राउ गरेको हो। (नागरिक दैनिकबाट)